पोखराका दुई युवा संरक्षण अभियान चलाउँदै साइकलमा विश्व भ्रमण

अर्जुन गिरी
पोखरा, १ असोज/पोखरा—६ बैदाम बस्ने दाजुभाइ । पेसाले एक डाक्टर अर्को पर्यटन व्यवसायी । घर र नेपाल छाडेर हिँडेको एकवर्षपछि फर्किए । ‘विश्वमा वातावरण संरक्षण र एचआइभी एड्स सम्बन्धी जनचेतना’ भन्ने मुल नारा बोकेर यी दुई साइकलमै १६ राष्ट्र पुगेर पोखरा फर्किएका छन् ।

डा. अमृत बराल र उनका भाइ अजीत, जसले साइकलमै यात्रा गरेर जनचेतना फैलाए । २९ वर्षीय डा. अमृत र उनीभन्दा २ वर्ष कान्छा अजीत सन् २०१५ साल २० सेप्टेम्बरको दिन यात्रामा निस्केका थिए । उनीहरुले वातावरण पर्यावरण संरक्षण र एचआइभी एड्स रोकथाम सम्बन्धी जनचेतना फैलाउने काम मात्र गरेनन् । त्यसबाहेक भगवान बुद्ध नेपालमा जन्मिएको र सगरमाथाको देश नेपाल भनेर पनि प्रचार– प्रसार गरे ।

साइकलमा नेपालको भण्डा फहराउँदै विश्व भ्रमणमा हिँडेका दाजुभाइ जुन देशमा पुग्थे त्यहाँ नेपालीहरु गर्व महसुस गर्थे । डाक्टरी पेसालाईनै विश्राम दिएर जनचेतना जगाउन अघि बढेका अमृत र उनका भाइले राष्ट्र र समाजका लागि केही गर्नुपर्छ भन्ने सन्देश दिए ।  उनीहरुले भारत, माल्दिभ्स, श्रीलका, बंगलादेश, म्यानमार, थाइल्यान्ड, लाओस, कम्बोडिया, भियतनाम, ब्रुनाई, सिंगापुर, मलेसिया, ताइवान, दक्षिण कोरिया, जापान र अमेरिकासम्म अभियान चलाए ।

डा.अमृतसँग नेपालमा सरकारी र गैरसरकारी संस्थासँग आवद्ध रही ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गरेको अनुभव छ । उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २ वर्ष र दीर्घायु नेपाल सामाजिक संस्थामा स्वास्थ्य सेवा संयोजक समेत रही काम गरिसकेका छन् । अजीत भने सामाजिक काम र वातावरण संरक्षणको क्षेत्रका सक्रिय युवा अभियन्ता हुन् ।  भ्रमणको क्रममा उनीहरु विभिन्न देशमा भएको सचेतनात्मक कार्यक्रममा भाग लिएका थिए ।

पोखराका दुई युवा संरक्षण अभियान चलाउँदै साइकलमा विश्व भ्रमण
पोखराका दुई युवा संरक्षण अभियान चलाउँदै साइकलमा विश्व भ्रमण

भारतमा एचआभी एड्स सम्बन्धी सचेतना जगाउनु इन्डियन मेडिकल काउन्सिल र रेड क्रस सोसाइडीसँग मिलेर ‘रातो रिबन’ कार्यक्रम सहभागी भएको डा. अमृतले बताए । त्यसैगरी माल्दिभ्सको मालेमा २०१५ मा भएको स्तन क्यान्सर सम्बन्धी वार्षिक दौड,श्रीलंकाको कोलम्बोस्थित लाभिनिया समुद्रीतटमा समुद्र संरक्षण र प्लास्टिक सफाइ अभियानमा लाभिनियाका मेयरको अनुमति लिएर उनीहरु सहभागी भएका थिए । जहाँ थुप्रै विज्ञ, विद्यार्थी र स्थानीयको सहभागिता थियो ।म्यान्मारको थावर्बा अस्पतालमा डा. अमृत बरालले स्वयंसेवा गरे, जहाँ अजीतले चाहिँ स्थानीयलाई पुनप्रशोधन गर्न सकिने र नसकिने फोहोरबारे प्रशिक्षण दिए ।

२०१५ को विश्व एड्स दिवसका दिन थाइल्यान्डमा उनीहरुले कन्डम वितरण गरे भने लाओसको नाम्तेन गाउँमा खाद्यशुद्धता र सरसफाइबारे कार्यक्रम गरे अनि लोङप्रबाङमा मुस्कान परियोजनामा स्वयंसेवा गरे । उनीहरुले लाओस, कम्बोडिया, भियतनाम र ताइवानमा युवाहरुमाझ यौन स्वास्थ्य, एचआइभी एड्स, पर्यावरणबारे कुरा गरे भने अमेरिकाको सानफ्रान्सिस्को र कोलोराडोमा वातावरण संरक्षण सम्बन्धी कार्यक्रममा भाग लिए । जापानको आसिकागाका नेपालीहरुलाई र लाओस र कम्बोडियाका बच्चाहरुको पनि डा. अमृतले निशुल्क स्वास्थ्य जाँच गरेका थिए । भ्रमण गरेका यी देशमा युएनएड्स, युनेप र युनेस्कोका राष्ट्रिय निर्देशकहरुसँग पनि उनीहरुको भेट भयो ।

‘भ्रमणको मुल उद्देश्य भनेकै एचआइभी एड्स रोकथाम र पर्यावरण संरक्षणबारे जनचेतना जगाउनु थियो,’डा. अमृतले भने, ‘यी मुख्य एजेन्डा भएपनि अरु काम पनि गरियो ।’ केही राष्ट्रका नागरिकलाई त बुद्ध नेपालमा जन्मेको भन्नेनै थाहा नभएको उनीहरुले थाहा पाए । ‘त्यसबारेमा पनि प्रचार– प्रसार ग¥यौं,’ उनले भने । यात्राको क्रममा धेरै कठिनाइको सामना गर्नुपरेको उनले सुनाए । ‘धैरै बाधा र चुनौती आए तर हामी रोकिएनौं,’ उनले भने, ‘हाम्रो मुख्य काम भनेकै अभियान चलाउनु थियो जुन हामीले पूरा ग¥यौं ।’भ्रमणका लागि धेरैले सहयोग गरेको उनले बताए ।

‘एक वर्षको भ्रमणमा हामीले व्यक्तिगत ६० प्रतिशत रकम खर्च ग¥यौं,’ उनले भने, ‘अरु भने जुन देशमा गयो त्यहाँ रहेका नेपाली दाजुभाइ, समाज र संघसंस्थाले गरे ।’ जनचेतनाको अभियान लिएर हिँड्दा छुट्टै आनन्द प्राप्त गरेको अजीतले बताए । ‘हुन त यस्तो अभियान लिएर हिँड्नु आफैमा कठिन कुरा हो,’ उनले भने, ‘जब अभियान पूरा हुन्छ त यस्तो आनन्द लाग्दोरहेछ जुन अरु कुरामा पाउन सकिँदैन ।’ समाज र राष्ट्रका लागि आगामी दिनमा पनि यस्तो काम गर्ने उनले बताए ।

कमेन्टहरु
Loading...