सञ्चारकर्मी बस्यालको जन्मदिन श्रमिक बालबालिकासँग

पोखरा, ३० असोज/पोखराका सञ्चारकर्मी संजोग बस्यालले आफ्नो जन्मदिन फरक ढङ्गले मनाएका छन् । बिग एफएममा कार्यरत बस्यालले श्रमिक बालबालिकाहरुलाई स्टेशनरी सामग्रि वितरण गरी जन्मदिन मनाएका हुन् । आफ्नो हरेक जन्मदिन फरक ढङ्गले मनाउँदै आएका बस्यालले यसपटकको जन्मदिन श्रमिक बालबालिकाको सम्पर्क केन्द्र पोखरा महेन्द्रपुलका २० जना बालबालिकालाई कापी, कलम, इरेजर, पेन्सिल लगायतका शैक्षिक सामग्रि वितरण गरि मनाएका हुन् ।

‘जन्मदिनमा विभिन्न तरिकाले खर्च गर्ने चलन हुन्छ । तर मैले परोपकारी जन्मदिन मनाउने योजना बनाएँ ।’ विग एफएमका कार्यक्रम संयोजक समेत रहेका बस्यालले भने– ‘त्यसैले मैले श्रमिक बालबालिकाहरुलाई थोरै भएपनि खुशि बनाउन उनीहरुलाई शैक्षिक सामग्रि बाँडेको हुँ ।’ श्रमिक बालबालिकाहरुसँगै जन्मदिन मनाउने क्रममा उनले आगामी दिनमा पनि उनीहरुको क्षेत्रमा काम गर्न आफु तत्पर रहेको बताए ।

अर्काको घरमा काम गरेर बाल्यकालमै दुःखका साथ जीवन गुजारा गर्न बाध्य बालबालिकाहरु दशैँ लगत्तै शैक्षिक सामग्रि पाएपछि निकैखुशी देखिन्थे । बालबालिकासहित श्रमिक बालबालिकाको सम्पर्क कार्यालयका कर्मचारीले बस्याललाई जन्मदिनको शुभकामना दिएका थिए । ‘बिग एफएमले हाम्रा हरेक गतिविधिलाई नियाल्दै एउटा संवाहकको भूमिका खेलेको छ ।’ बालश्रम न्यूनीकरण कार्यक्रमका परियोजना संयोजक भक्तराज रसाईलीले भने– ‘बिग एफएमकर्मी बस्यालको जन्मदिनमा हामीसँग रहेका बालबालिकाले पनि यो खुशी सँगै साट्ने मौका पाए । हामीलाई अत्यन्तै खुशी लागेको छ ।’

शैक्षिक सामग्रि वितरण कार्यक्रममा बोल्दै केन्द्र प्रमुख दिपा आचार्यले श्रमिक बालबालिकाहरुका लागि बस्यालको यो सहयोग निकै ठूलो हुने बताईन् । पोखरा उप–महानगरपालिकाको सहकार्य तथा किडास नामक गैर सरकारी संस्थाको सहयोगमा पोखरामा मात्रै श्रमिक बालबालिकाहरुका लागि यस्ता नौ वटा केन्द्र खोलिएका छन् । यी केन्द्रहरुमार्फत् श्रमिक बालबालिकाहरुले व्यक्तित्व विकासका साथै अनौपचारिक शिक्षा आर्जन गर्नसक्छन् ।

अहिलेसम्म पोखरामा रहेका यी केन्द्रहरुमार्फत् करिब ७ हजार श्रमिक बालबालिकाले अनौपचारिक शिक्षा र सिपमूलक तालिम प्राप्त गरिसकेका छन् । केन्द्रले अति विपन्न परिवारका बालबालिकालाई निःशुल्क पठनपाठन र अभिभावकहरुका लागि सिपमूलक तालिम तथा आयआर्जनका लागि रकम समेत लगानी गर्ने गरेको छ । स्मरण रहोस्, पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले हरेक बर्ष सञ्चालन गर्दै आईरहेको विग आइकनको प्रवेश टिकटबाट प्राप्त हुने सम्पूर्ण रकम श्रमिक बालबालिकाहरुको हकहीतका लागि खर्च गर्दैै आएको छ ।

कमेन्टहरु
Loading...