पोखरा, २३ असोज/तपाई पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे बजारबाट उत्तर करिब १२ किलोमिटर मोटरबाटो तय गर्नुभयो भने, पुग्न सक्नुहुनेछ रानागाउँ भाल्डाँडा । गाउँमा आउने पाहुनालाई यहाँका होमस्टे सञ्चालकले सुरुवातमा पूmलामालाले न्यानो स्वागत गर्दछन् । यतिमात्र कहाँ हो र मीठो आतिथ्यता, गाउँमा उत्पादित अर्गानिक खानाका परिकारसहित सोरठी नाचले मनोरञ्जन दिलाउँछन् ।
इच्छुकलाई साँधेको भट्ट, लोकल कुखुराको मासुसँगै कोदोको तीनपाने त छँदैछ । गाउँमा आएकाहरु आतिथ्यतासहितको मीठो परिकारले रमाउँदै मीठो सम्झनासहितको कोशेली बोकेर फर्किन्छन् । मिलेको बस्ती, मीठो आतिथ्यता, मन रमाउने वातावरण–रानागाउँको चिनारी हो । भानु नगरपालिका वडा नंं ४ स्थित रानागाउँ भाल्डाँडाको परिचय अहिले यत्तिमै सीमित छैन । यहाँ सुरु भएको होमस्टे (घरबास कार्यक्रम) ले गाउँको परिचय नै फेरिएको छ । राना गाउँको चिनारी बेसीको चुँदीखोलाको सीमा नाघेर देश विदेश पुग्दैछ ।

२ वर्षअघिसम्म परम्परागत कृषि खेतीमै अल्झिएका स्थानीयको होम स्टे सुरु भएपछि जीवनशैली फेरिदिएको हो । रानागाउँ होम स्टे व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर राना भन्छन्–‘यो कार्यक्रमले हामीलाई धेरै परिवर्तन ल्याएको छ, अलि–अलि आम्दानी त हुने नै भयो, त्यसभन्दा बढी सरसफाइ, नयाँ–नयाँ मानिससँगको भेटघाट हुँदा रमाइलो भएको छ ।’ सुरुवातमा गाउँमा खासै आयश्रोतको बाटो थिएन, होम स्टेले यहाँ उब्जनी भएको तरकारी, अन्नबाली, पशुपंंक्षीको खपत हुने राम्रो मौका मिलेको छ । हातमा पैसा नपर्ने महिलाले घर–व्यवहारका लागि होमस्टेबाट पैसा कमाउने अवसर पाएका छन् ।
एशिया मानवअधिकार तथा सांस्कृतिक विकास मञ्च (एशियन फोरम) ले कास्कीको पुम्दीभुम्दीस्थित कालावाङ घरेडी गाउँ र तनहुँको रानागाउँमा होमस्टे कार्यक्रम सुरुवात गरेको हो । दुबै गाउँमा एकैपटक सुरुवात भएको उक्त कार्यक्रमअन्तर्गत सुरुवातमा आवश्यक सामग्री सहयोग पनि गरेको एशियन फोरमका कास्की अध्यक्ष तिलक थापाले बताए । रानागाउँमा रहेका ३६ घरधुरीकामध्ये हाललाई ११ घरधुरीमा होमस्टे सुरुवात छ । हरेक घरमा कम्तिमा दुई वटा बेडसहित सुरुवात भएको उक्त कार्यक्रमपूर्व एशियन फोरमले गाउँमा सोलार प्यानल जडान, ट्वाइलेट बाथरुम निर्माणका लागि सामग्री, बेड सहयोग गरेको थियो । संस्थाले होम स्टेमा जोडिनेलाई कुक तालिम, अंग्रेजी भाषा तालिम, पाहुनालाई आतिथ्यता कसरी दिने, अर्गानिक फार्म कसरी गर्ने लगायत तालिम दिइसकेको छ ।

तालिम पाएपछि गाउँलेले पनि यसमा आकर्षित हुँदै होम स्टे सुरुवात गरेका हुन् । स्थानीय ममता आमा समूहका अध्यक्षसमेत रहेकी शर्मिला रानाले गाउँमा होम स्टे सुरुवात भएपछि आफूहरु पाहुनाको स्वागतमै तल्लिन रहने बताइन्। उनले घरगाउँमा उत्पादित सामग्री पस्केर खुवाउन पाउँदा औधी खुसी छौ, भन्छिन् । होम स्टे व्यवस्थापन समितिले होमस्टेमा रहनेलाई प्रतिव्यक्ति आठ सय ५० रुपैयाँ तोकेको छ । जसमा एक रातसहित दुई छाक खाना, खाजा व्यवस्था हुन्छ । दुई व्यक्ति भए एक हजार पाँच सय रुपैयाँ ।
रानागाउँको परिचय यत्तिमै सीमित छैन । आदिकवि भानुभक्तको जन्मस्थल रम्घाबाट मात्रै ४ किमी पूर्वमा रहेको उक्त गाउँबाट मनास्लु, गणेश हिमालको मनोरम दृश्य देख्न सकिन्छ । पूर्वमा भने गोरखाको पालुङटार, लिगलिगकोट रहेको छ । गाउँमा हाल राना, थापा, आले, सारु, नेपालीको बस्ती छ । सबैभन्दा बढी राना छन् । गाउँम आउने पाहुनालाई स्थानीय नवप्रभात युवा क्लबले सांस्कृतिक कार्यक्रम देखाउँछ । मानिसको जीवनस्तरका विस्तारै उकास्दै गएको होम स्टेपछि विदेशीका मानिसहरु पनि विस्तारै गाउँघर फर्किएर यसमा रमाउने वचन दिएको गाउँले बताउँछन् ।
होम स्टे व्यवस्थापन समिति सचिव रुपबहादुर रानाले अझ यसलाई प्रवद्र्धन गर्दै जाने बताए । उनले छिट्टै तीन घरमा होम स्टे कार्यक्रम लागू हुने जानकारी दिए । एशियन फोरमले कास्की र तनहुँलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका करिब २० पत्रकारलाई रानागाउँ र कालावाङको प्रत्यक्ष अवलोकन गराएको छ । कार्यक्रममा सहभागी पत्रकार नारायण कार्कीले गाउँमा आएका पाहुनालाई फर्केर जाँदा चिनारीस्वरुप कोशेली बोकेर लैजान थप पहल गर्नुपर्ने सुझाव दिए ।