अनिजको पाँचौ राष्ट्रिय महाधिवेशनको तयारी पुरा

पोखरा, २५ जेठ/नेपालका आदिवासी जनजाति पत्रकारहरुको साझा संस्था नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिजको जेठ २६ र २७ गते पोखरामा हुने पाँचौ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक पोखरामा हुन लागेको महाधिवेशनको तयारीका बारेमा जानाकारी दिन अनिजले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय महाधिवेशनका संयोजक मोहनसिंह लामा, महासचिव डण्ड गुरुङ र अनिज कास्कीका अध्यक्ष तथा स्थानिय व्यवस्थापन संयोजक हुमबहादुर गुरुङले उक्त जानकारी दिनुभएको हो । 

देशका ४४ जिल्लामा गठित जिल्ला शाखाहरु, आठ जातिय पत्रकार संघहरु र दुई विदेश शाखा सहितबाट तीन सय प्रतिनिधीको सहभागिता रहने महाधिवेशन पोखरा १७ ड्यामसाइडस्थित गोर्खा फिटनेश सेन्टर तथा गल्फ स्कुलमा हुने बताइएको छ । महाधिवेशन सम्पन्न गर्नका लागि करिब आठ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । महाधिवेशनको राजनैतिक दलका आदिवासी जनजाति नेताहरुले उद्घाटन गरिने र महाधिवेशन पुर्व जेठ २६ गते विहान ८ बजे शहिदचोकबाट मौलिक भेषभुषामा आदिवासी जनजाति पत्रकारहरु र आदिवासी जनजातिका संघ संस्थाका प्रतिनीधिहरु सम्मिलित प्रभातफेरी गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

जातीय पहिचानसहितको संघीयताका लागि पूर्ण समावेशी सञ्चार नाराका साथ हुने महाधिवेशनमा पहिचान सहितको संघीयताको पक्ष, पुर्ण समावेशी सञ्चार निर्माणको अभियान सञ्चालन र श्रमजिवी पत्रकार ऐन लागु गराउने पक्षमा विशेष छलफल गरिने जानकारी दिइएको थियो । महाधिवेशनले आदिवासी जनजाति पत्रकार संघलाई महासंघमा परिणत गर्ने प्रस्ताव, २१ सदस्यीय केन्द्रीय समितिलार्य २७ सदस्यीय, पाँच केन्द्रीय उपाध्यक्षहरु परिवर्तन गरी एक उपाध्यक्ष, पाँच क्षेत्रीय संयोजकको व्यवस्था र अनिजलाई संघीयताको ढाँचामा रुपान्तरण गरिने लामाले बताउनुभयो ।

कमेन्टहरु
Loading...