पोखरामा मृगौला परीक्षण शिविरमा उत्साहजनक सहभागिता

पोखरा, १० असोज / व्रिज अफ लाइफ अमेरिकाको प्राविधिक सहयोगमा नेपाल किड्नी फाउन्डेशनले कास्की, पर्वत र वाग्लुङमा छुट्टाछुट्टै रुपमा गरेको पाँच दिवशीय निशुल्क मृगौला परीक्षण शिविरमा तीन हजार भन्दा बढी सर्वसाधारणले मृगौला परीक्षण गरेका छन् ।

फाउन्डेसनले यही असोज ६ गते वाग्लुङबाट निशुल्क रुपमा मृगौला परीक्षण सुरु गरी ७ गते पर्वतको पलेवास, ८ गते पर्वतको कुस्मा, ९ गते कास्कीको लेखनाथ र आज पोखरामा शिविर सञ्चालन गरेको थियो । फाउन्डेसनका अध्यक्ष डा. शक्ति बस्नेतका अनुसार वाग्लुङमा ५६०, पर्वतको फलेवासमा ४२८, पर्वतकै कुस्मामा एक हजार, कास्कीको लेखनाथमा २८० र पोखरामा ७५२ जना सर्वसाधारणले मृगौला परीक्षण गराएका छन् ।

परीक्षणका क्रममा प्रत्येक दिनको शिविरमा ८ देखि १० जनासम्म मृगौलाका गम्भीर समस्या तथा २२÷२३ जना सामान्य समस्या रहेका विरामी फेला परेको उहाँले जानकारी दिनुभयो । शिविरमा किड्नीमा समस्या देखिएका विरामीहरूलाई फाउन्डेसनका तर्फबाट परामर्शका साथै निशुल्क औषधी प्रदान गरिएको फाउन्डेसनका कार्यक्रम संयोजक गणेश उप्रेतीले बताउनुभयो ।
यसैबीच नेपाल किड्नी फाउन्डेसनले आज पोखराका लायन्स क्लबहरू पोखरा सेती गण्डकी, पोखरा चौतारी, पोखरा टुरिज्म सिटि र पोखरा स्टकलाई तीन लाख रुपैयाँ बराबरको औषधी हस्तान्तरण गरिएको छ ।

कमेन्टहरु
Loading...