इलाकालाई नै स्थानीय निकाय बनाउन तीन दल सहमत

काठमाडौं, १० असोज/अहिले चलिरहेका इलाकाहरूलाई नै आधार बनाएर स्थानीय निकायको पुनःसंरचना गर्न प्रमुख तीन राजनीतिक दल सहमत भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रको बैठकमा यो सहमति जुटेको हो। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले इलाकाहरूलाई नै स्थानीय तह बनाउन प्रस्ताव गरेका थिए। स्थानीय तहको पुनःसंरचनाबारे साझा धारणा बनाउन बसेको बैठकमा यो सहमति जुटेपछि अब स्थानीय तह सोहीबमोजिम हुने छ।

जसअनुसार अब स्थानीय तहको संख्या ९२७ हुने छ। जिल्लामा रहेका इलाकालाई नै स्थानीय तह बनाउन दाहालले गरेको प्रस्तावमा कांग्रेस र एमालेले सहमति जनाएका थिए। स्थानीय निकाय पुनःसंरचना आयोगले ५६५ स्थानीय तह प्रस्ताव गरेको थियो। दलहरूले यो संख्या कम भएको भन्दै बढाउनुपर्ने बताउँदै आएका थिए।

कमेन्टहरु
Loading...