मानवअधिकार तथा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

पोखरा, २१ जेठ / अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय र इम्पावर विमिन एण्ड चिन्ड्रेनको आयोजनामा मानवअधिकार तथा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम लेखनाथ नपा–१ स्थित जनप्रकाश बहुमुखी क्याम्पसमा मंगलबार सम्पन्न भयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इम्पावर विमिन एण्ड चिन्ड्रेनका अध्यक्ष सुमिना बस्नेतले समाजको संवाहक युवापुस्ता भएकाले उनीहरु मार्फत् आफ्नो समुदायमा मानवअधिकारको संरक्षण र लैङ्गिक हिंसा न्यूनीकरणमा टेवा पुग्ने बताईन् ।

DSC03289कार्यक्रममा बोल्दै जनप्रकाश बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद भण्डारीले लैङ्गिक हिंसा र मानवअधिकार उल्लंघनका घटना समाजमा अझै पनि व्याप्त रुपमा हुने गरेकाले त्यसको न्यूनीकरणका लागि सबैले पहल गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका सुपरीवेक्षक बागमती कट्टेलले विद्यार्थीहरुले समाजमा हुने मानवअधिकार उल्लंघन र लैङ्गिक हिंसाप्रति आफु सचेत हुदै अरुलाई सचेत गराउन सक्ने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका कार्यक्रम संयोजक गणेश श्रेष्ठले मानवअधिकार र विधिको शासनको बारेमा, इम्पावर विमिन एण्ड चिन्ड्रेनका अध्यक्ष सुमिता बस्नेतले सशक्तिकरणका बारेमा सहजीकरण गरेका थिए । त्यसैगरी इम्पावर विमिन एण्ड चिन्ड्रेनका सचिव शान्त खत्रीले लिङ्ग र लैङ्गिताको भिन्नता र पितृसत्ताको बारेमा र महिला मानवअधिकार रक्षक सञ्जालका सदस्य चमेली परियारले लैङ्गिक हिंसा, लैङ्गिक हिंसाका प्रकार बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा विद्यार्थी द्वय भावना लामिछाने र रोशन पोखरेलले कार्यक्रम उपयोगी र सान्दर्भिक भएको भन्दै यस्ता कार्यक्रममा बेला–बेलामा हुनु पर्नेमा जोड दिए । कार्यक्रममा जनप्रकाश बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययनरत ७५ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । इम्पावर विमिन एण्ड चिन्ड्रेनका अध्यक्ष सुमिता बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव शान्त खत्रीले कार्यक्रम सञ्चालन र क्याम्पसका सञ्चालक समिति सदस्य शिव भण्डारीले कार्यक्रमको संयोजन गरेका थिए ।

कमेन्टहरु
Loading...