बाबुले छोरीको हत्या गरेको स्वीकार

आफैले जन्माएको छोरीको बाबुले हत्या गर्लान्? सोच्नसम्म सकिँदैन। तर गत जेठ ७ गते एक १७ वर्षीया बालिकालाई उनकै बाबुले भाडाका अपराधी लगाएर हत्या गरेको खुलेको छ। छोरीको हत्या आशङ्कामा गिरफ्तार भएका सप्तरी बथनाहा गाविस–७ का चन्द्रिका राउतले १७ वर्षीया छोरी रुबीको हत्या गरेको स्वीकारेको प्रहरीले बताएको छ। भाडाका हत्याराको साथ लगाई छोरीलाई घर पठाएको नाटक रच्ने राउतलाई गिरफ्तार गरेको १० दिनपछि हत्याको रहस्य खुलेको हो।
हत्याका लागि हत्याराको बन्दोबस्त गरिसकेपछि चन्द्रिकाले छोरीलाई भारत विहारको दरभङ्गास्थित फुपूको घरबाट सप्तरीको रम्पुरा मल्हनिया गाविसस्थित मामाघर ल्याएर राखेका थिए। इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरीनायब निरीक्षक रत्न पौडेलका अनुसार मामाघरमा दुई दिन राखेपछि दुईजना अपरिचितका साथ लगाई चन्द्रिकाले छोरीलाई घर पठाएका थिए।
प्रहरीका अनुसार रम्पुरा मल्हनिया गाविसस्थित मामाघरबाट रुबीलाई साथ लिएर निस्केका ती दुई अपरिचितले केही घण्टापछि सुनसान ठाउँदेखि कोसी नदीको पश्चिम तटबन्ध छेउ रुबीको घाँटी रेटी हत्या गरे। रुबीको शवलाई उनीहरुले रातारात कोइलाडी–९ चट्टी टोलस्थित नहरछेउ ल्याएर आगोले जलाएर फालिदिएको अनुसन्धानबाट खुलेको छ।
अनुहारलगायत शरीरको अधिकांश भाग जलेको अवस्थाको लास जेठ ८ गते बिहान ९ बजे फेला परेको थियो। जलेको शव चार दिनसम्म पहिचान भएको थिएन। राउतले बयानमा छोरी तल्लो जातको केटासँग भागेको घटनाबाट तनावमा रहेकाले थप अपमानित हुनु नपरोस् भनेर हत्या गरेको बताएका छन्। स्थानीय बजरङ्गी निमाविमा कक्षा आठमा अध्ययनरत रुबी गत चैत ३ गते छिमेकी सत्यनारायण साहका छोरा अरुणकुमारसँग भागेकी थिइन्। भागेकी छोरीलाई दुवै परिवारको संयुक्त पहलमा घर फर्काइएको थियो।
बाबुले हत्या गरेको शङ्काका आधारमा रुबीका बुबा चन्द्रिकालाई गिरफ्तार गरेपछि हत्यामा संलग्न रहेको आरोपमा कोइलाडी गाविस–९ का मोहन साहलाई प्रहरीले गिरफ्तार गरेको छ भने अर्का एक आरोपी फरार छन्। हत्यारालाई रुबीको हत्याबापत बुबा चन्द्रिकाले रु १० हजार रुपैयाँ दिएको पनि पत्ता लागेको छ। रासस cp. setopati.com
कमेन्टहरु
Loading...