कार्टुनिष्ट पत्रकारको कपडा धन्दा !

२० जेठ, काठमाडौं । राजेश केसी, सृजनात्मक र चोटिला कार्टुन बनाउने परिचित नाम । नागरिक दैनिकमा ‘फलानो’ शीर्षकमा कार्टुन बनाउने केसी सिपालु फोटो पत्रकारसमेत हुनुहुन्छ । राजनीतिक तथा सामाजिक विकृति, विसंगतिलाई कार्टुनको माध्यमबाट झटारो हान्न खप्पिस कार्टुनिष्ट केसीलाई अब कपडा व्यापारीको रुपमा पनि देख्न पाइने भएको छ ।

falano-1

‘गुणस्तरीय नेपाली कपडाको अभाव देखें मैले, त्यसैले नेपाली मौलिकपन र गुणस्तर कायम हुनेगरी पोशाक बनाउन लागेको हो’ केसीले अनलाइनखबरसित भन्नुभयो-’आफूभित्र भएको सृजनालाई कपडा मार्फत पनि व्यक्त गर्ने योजना छ ।’

मध्यमवर्गका युवाहरुलाई लक्षित गरी तयार पारिएको पोशाकले बिदेशमा नेपाल चिनाउन ठूलो मद्दत पुग्ने उहाँको विश्वास छ । ‘विदेश जानेले किनेर लैजान्छन् र विदेशमा बस्दा पनि लगाउँछन् भन्ने मेरो विश्वास छ’ केसीले भन्नुभयो-’नेपालमा बस्नेले त झन यसै मन पराउँछन् भन्ने लागेको छ ।’

केसीले शुरुमा बिभिन्न साइजका टिसर्ट तयार पार्नुभएको छ । भारतबाट कच्चा पदार्थ ल्याएर उहाँ आफैंले आफ्नो डिजाइनमा टिसर्ट तयार पार्नुभएको हो । टिसर्ट तयार भएपछि त्यसमा उहाँले नेपाली मौलिकपन झल्कने बिभिन्नखाले कार्टुन बनाउनुहुन्छ । ‘यस्ता कार्टुन पि्रन्ट भएका केही टिसर्ट तयार भैसकेका छन्’ केसीले भन्नुभयो ।

केही दिनमै बजारमा

पत्रिकामा छापिने कार्टुनमा जस्तै केसीले पोशाकलाई पनि ‘फलानो’ नामको ब्रान्ड दिनुभएको छ । नेपाली मौलिकपन झल्कने गरी केही टिसर्टमा कार्टुन पि्रन्ट भैसकेकाले केही दिनमै बिक्रीका लागि राखिने केसीले जानकारी दिनुभयो । ‘१०/१५ दिनभित्र सुन्धाराको सिभिल ट्रेड सेन्टरमा टिसर्ट किन्न पाइन्छ’ केसीले भन्नुभयो । बच्चाहरुको लागि ७ सय र बयस्कका लागि एकहजार रुपैंयाभन्दा माथिका टिसर्ट तयार भएको उहाँले बताउनुभयो ।

– See more at: http://www.onlinekhabar.com/2013/06/78127/#sthash.oEw8l5Lb.dpuf

कमेन्टहरु
Loading...