माइतीघर-तीनकुनेमा दशैंसम्म साइकल लेन

२० जेठ, काठमाडौं । टिर्टिर् घण्टी बजाउँदै सडक छेउमा गुड्ने साइकललाई न छिटो कुद्ने गाडीवालाले टेर्छ, न विस्तारै हिँड्ने बटुवाले । व्यस्त सडकमा साइकलमा गुड्ने मान्छे आफू निकै अपहेलित भएको महसुस गर्छ । ‘गाडीवालाले निकै हेप्छन्, विस्तारै हिँड्ने साधन भएकाले अरु गाडीले पेल्ने सम्भावना धेरै हुन्छ’ साइकलप्रेमी समृद्धी ढकालले अनलाइनखबरसित भन्नुभयो-’राजधानीमा साइकल चढ्नु वातावरणको हिसाबले निकै राम्रो भएपनि जोखिम उत्तिकै छ, त्यसैले सबै ठाउँमा साइकल लेनको जरुरी छ ।’bicycle

तर अहिलेसम्म सिनामंगलदेखि तिलगंगासम्म मात्र साइकल लेन छ । अरु व्यस्त सडकमा साइकल लेन छैन । आफ्नो लेन नभएको कारण साइकलयात्रीले निकै जोखिमपूर्ण रुपमा यात्रा गर्नुपर्ने बाध्यता छ । कतिले ज्यान समेत गुमाएका छन् । वातावरणविद डा. प्रल्हाद योञ्जनको निधन साइकलयात्राकै क्रममा अर्को गाडीले ठक्कर दिएर भएको थियो ।
सडकमा साइकलयात्रीको जोखिम बढेको भन्दै साइकल लेन बनाउनुपर्ने आवाज जोडतोडका साथ उठिरहेको छ । तर सबै ठाउँमा साइकल लेन बनाउने पहल भएको छैन । अहिले सडक विस्तारको क्रममा मात्रै साइकल लेन बनाउने काम शुरु भएको छ ।

माइतीघर-तीनकुनेमा काम तीव्र

राजधानीको अति व्यस्त सडकमध्येमा पर्ने माइतीघर-तीनकुने क्षेत्रमा सडक विस्तारसँगै साइकल लेन बनाउने काम तीव्र रुपमा भैरहेको छ । ‘सडक पुनर्निर्माणसँगै साइकल लेनको काम अशोज, कात्तिकसम्म सक्ने योजना छ’ काठमाडौं महानगरपालिका नगर विकास समिति संयोजक भाइकाजी तिवारीले अनलाइनखबरसित भन्नुभयो । यो साइकल लेन झण्डै तीन किलोमिटरको हुनेछ ।

कलंकी-कोटेश्वरमा पनि तत्काल काम

कलंकीदेखि कोटेश्वरसम्मको चक्रपथ क्षेत्रमा पनि साइकल लेन बन्ने भएको छ । चीन सरकारको अनुदान सहायतामा १० लेनको सडक बनाउने क्रममा साइकल लेनको लागि पनि ठाउँ छुट्याउन लागिएको हो । गएको पुसमा चिनियाँ प्रधानमन्त्रीको भ्रमणका बेला चक्रपथ विस्तारबारे सैद्धान्तिक सहमति भएको हो । सडक विस्तारको क्रममा दायँबायाँ चार लेनको दुईतर्फी सडक र दुवै तर्फ एकएक लेनको साइकल लेन र पदयात्री मार्ग निर्माण गर्ने योजना छ । ‘चक्रपथमा असारदेखि काम शुरु हुन्छ, निर्माण सक्न केही वर्ष लाग्न सक्छ’ तिवारीले भन्नुभयो । यसबाहेक कालिमाटी-बल्खु, नक्साल-बालुवाटार, बालाजु-बाइपास लगायतका ठाउँमा पनि सडक विस्तारसँगै साइकल लेन बनाउने तयारी छ ।

– See more at: http://www.onlinekhabar.com/2013/06/78087/#sthash.k7s3hMwp.dpuf

कमेन्टहरु
Loading...