माओवादीको माग पुरा गर्न रेग्मीले राजीनामा दिँदैनन् : पुन

काठमाडौं, जेष्ठ १९ – एमाओवादी नेता वर्षमान पुनले नेकपा–माओवादीको माग पुरा गर्न चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा नदिने स्पष्ट पारेका छन् । राजधानीमा आइतबार भएको साक्षात्कारमा नेता पुनले मिलाउन सक्ने कुराहरुलाई अहिले नै मिलाएर नमिलेका विषय लिएर निर्वाचनमा जानु नै अहिलेको निकास भएको बताए । नेकपा–माओवादीका लागि मन्त्रिपरिषद् अध्यक्षद्वारा प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुको कुनै औचित्य नभएको उनले स्पष्ट पारे ।

पुनले ११ बुँदे राजनीतिक सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउमा टेकेर सरकार निर्वाचनको मिति घोषणा गर्दै अघि बढ्नु पर्ने बताए । संविधानसभाको ४९१ को संख्यामा आफूहरुलाई कुनै आपत्ति नभएको बताए पनि उनले महिला, मधेसी, जनजाती र दलितको प्रतिनिधित्वको अनुपात पुरानै ऐन अनुसार राख्नु पर्नेमा जोड दिँदै उनले  त्यसलाई घटाए निर्वाचन हुन नसक्ने ठोकुवा गरे ।

कांग्रेस केन्द्रीय सदस्य प्रकास शरण महतले अहिले सहमति भन्दा बाहिरको कुरा गरे दलहरुको हातबाट सधैको लागि सत्ता फुत्किने दाबी गर्दै त्यसैले नयाँ कुरा गरेर निर्वाचनलाई पर धकेल्न नहुने तर्क गरे । एमाले सचिव यूवराज ज्ञावलीले एमाओवादी भित्र वैचारिक अन्यौलता रहेकोले मुलुकले दुख पाएको दाबी गर्दै संविधानसभाको संख्या र थ्रेसहोल्डको विषयमा भएको पूर्व सहमतिमा अडिग रहन माओवादीलाई आग्रह गरे ।

उनले भने, ‘४९१ संख्यामा सहमति भएको हो । थ्रेस होल्ड पनि दलहरुसँग छलफल गरेर निर्वाचन आयोगले सहमतिमै ल्याएको हो । यो राम्रो कुरा हो, यसलाई मानेर अघि बढ्नु पर्छ । दल खोल्ने वित्तिकै सभासद हुने अवस्थाले संविधान बन्दैन । त्यसैले एक प्रतिसत भन्दा कम थ्रेस होल्ड मान्य हुँदैन ।’

नेकपा–माओवादी सहितका अहिलेको प्रक्रियाको विरोधमा रहेका दलहरुलाई सहमतिमा ल्याउन मन्त्रिपरिषद् अध्यक्षले प्रधानन्यायाधीशको पदबाट राजिनामा दिन तयार हुनु पर्ने तर्क गर्दै मंसिरमा निर्वाचन नभए मुलुक संकटमा जाने विषयमा सबै गम्भीर भएर बातावरण निर्माणमा लाग्नु पर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष मण्डलका सदस्य प्रकाशचन्द्र लोहनीले मन्त्रिपरिषद् अध्यक्षले प्रधानन्यायाधीश पदबाट राजिनामा दिए निर्वाचनको वातावरण बन्ने दावी गरे ।

– See more at: http://www.ekantipur.com/np/2070/2/19/full-story/369265.html#sthash.eb1qc3ej.dpuf

कमेन्टहरु
Loading...