बुद्धको जन्मस्थल खोज्दै म्यानमारका पत्रकार तिलौराकोटमा

बुद्ध जन्मस्थलको विश्वव्यापी प्रचारप्रसार गर्न म्यानमारका पत्रकार तिलौराकोट भ्रमणमा आएका छन्। भारतले अलिगढवामा धमाधम कृत्रिम कपिलवस्तु बनाएर बुद्ध भारतमा जन्मेको प्रचार गर्न थालेपछि नेपाल पर्यटन बोर्डको संयोजनमा आएका ती पत्रकारहरुले म्यानमारमा गएर बुद्धको जन्मस्थल नेपालबारे प्रचारप्रसार गर्ने बताएका छन्। 

नेपालका बुद्धस्थलहरु म्यानमारका जनताको महत्वपूर्ण तीर्थस्थल भएकाले नेपाल आउन उत्प्रेरणा जागेको म्यानमार पत्रकार सङ्घका कार्यकारी सदस्य वुन्नाले बताए। म्यानमारका वरिष्ठ पत्रकार श थानको नेतृत्वमा सातजनाको टोली यहाँ आएको हो।
टोलीमा म्यानमारका साथै विश्वका केही मुलुकमा  प्रशारण क्षेत्र रहेका छापा, टेलिभिजन र फोटो  पत्रकारिता क्षेत्रका पत्रकार  रहेका छन््।
टोलीले भगवान् गौतम बुद्धका पिताको राजप्रासाद तथा बुद्धले २९ वर्षसम्म युवा अवस्था बिताएको ठाउँ तिलौराकोट र भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि पहिलोपटक राजधानी आउँदा प्रवचन दिएको निग्रोधाराको अवलोकन गरेका छन्। त्यस्तै उनीहरुले जन्मस्थल लुम्बिनी, गोटिहवा र निग्लिहवाको अशोक स्तम्भ पनि अवलोकन गरेका थिए। बुद्धको जन्मस्थल, नेपाली जनताको मुस्कान र प्राकृतिक मनोरम दृष्यले आफूलाई सधैँ नेपाल आउन उत्प्रेरित गर्ने वरिष्ठ पत्रकार थानले बताए। उनले धेरै म्यानमारी जनतालाई सिधै नेपाल ल्याउन आफूहरुले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
भारतले नक्कली कपिलवस्तु निर्माण गरी जोडतोडले प्रचारप्रसार गरिरहेको अवस्थामा म्यानमारका पत्रकारहरुको यो भ्रमणले त्यसलाई चिर्न केही मद्धत मिल्ने टोलीलाई सहयोग गर्न सँगै आएका गोरखापत्रका पत्रकार तारा आचार्यले बताए। टोलीलाई वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले बुद्धस्थलबारे अवगत गराएका थिए। रासस cp. setopati.com
कमेन्टहरु
Loading...