अमित ढकाल र किरण भण्डारी नुवाकोट (मनकामना),जेठ १६ setopati.com
त्रिशुली थ्री–ए विद्युत आयोजनालाई नेपाल विद्युत प्राधिकरणले २०६४ सालमा अनुमोदन गर्यो । कांग्रेस मन्त्री ज्ञानेन्द्रबहादुर कार्की जलस्रोत मन्त्री रहँदा इपिसी (इञ्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन) मोडेलमा काम थाल्ने निर्णय भयो । ६०, ९०, १२० कति मेगावाटको बनाउने ? धेरै तर्कवितर्क र लामो प्राविधिक छलफलपछि प्राधिकरण व्यवस्थापन ६० मेगावाटको निर्माण गर्ने निर्णयमा पुग्यो ।
‘लागत, वार्षिक औसत उत्पादन, महिना अनुसार आवाश्यकताको आँकलन गरि ६० मेगावाट उपयुक्त ठहर्याइएको हो,’ प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक अर्जुनकुमार कार्कीले भने । ठेक्का लगाउने बेलासम्म दुई पटक सरकार फेरिएर कांग्रेसकै प्रकाशशरण महत ऊर्जामन्त्री भइसकेका थिए । इपिसी मोडेलको ६० मेगावाटको आयोजना ८९ मिलियन डलर (करिब ८ अर्ब रुपैयाँ) मा गर्ने कबोल चिनियाँ गेजुवा कम्पनीले गर्यो । दोस्रो पनि चिनियाँ कम्पनी नै थियो । उसको प्रस्ताव सेख मात्र बढी थियो, ९० मिलियन डलर । जसको सस्तो उसैले ठेक्का पायो ।