रेग्मी नेतृत्वको सरकार सँग डराउनु नपर्ने – नेता नेपाल

पोखरा, १६ जेठ/नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले खिलराज रेग्मी नेतृत्वको सरकारसंग डराउनु नपर्ने बताएका छन् । यो सरकार निर्बाचन गराउने सरकार भएकाले प्रतिगमन हुन्छ की भन्ने आशंका गर्नै नपर्ने दावी गरे । प्रेस चौतारी कास्कीले पोखरामा विहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ नेता नेपालले निर्बाचन मिति घोषणामा ढिलाई नभएको बताए । निर्बाचन मिति छिटो घोषणा गरेर समस्या समाधान हुँदैन भन्दै उनले मिति घोषणा गर्न ढिलाई नभएको र प्रतिगमनको पनि डर नरहेको बताए ।

निर्बाचनका लागि चार दलीय सिण्डिकेट बाधक बन्न नहुने उनको भनाई थियो । चार दलका कतिपय नेताहरुलाई त शिर्ष नेताको सिण्डिकेटले चित्त दुखाएको भन्दै नेपालले अब यो सिण्डिकेटको अन्त हुनु पर्ने बताए । स्वतन्त्र विद्यार्थी युनियनको निर्बाचन पनि माओवादी विद्यार्थी कै कारण अन्यौलमा परेको नेपाल को आरोप थियो । उनले एमाओवादीले हारिने डरले विद्यार्थीहरुको पनि निर्बाचन हुन नदिने षडयन्त्र गरेको बताए ।

नेपालले पहिले सहमति भएका बुँदाहरु पालना गर्ने हो भने सबै खालका निर्बाचन सम्भव भएको बताए । भट्टराई सरकारको पालामा भएका निर्बाचनलाई प्रभाव पार्ने खालका सबै नियुक्ती खारेज गरिनु पर्ने उनको भनाई थियो । पत्रकार सम्मेलन प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

कमेन्टहरु
Loading...