१५ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । अन्य २५ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको भोताङवाट काठमाण्डौ आउँदै गरेको बा २ ख ३६४५ नम्बरको बस बुधवार विहान थाङपालधापको फ्याफुल्लाडाँडामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको प्रहरी सहायक निरीक्षक राम पौडेलले जानकारी दिनुभयो ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा थाङपालकोट-३ का रणबहादुर पण्डित, सविना पण्डित, गीतादेवी बस्नेत, थाङपालकोट- ५ की मिठु सापकोटा, थाङपालकोट-६ का धने तामाङ, थाङपालकोट-९ का दमाइ तामाङ र गुन्सा-८ का छोटे बम्जन रहेका छन् । यसैगरी भोताङ-२ का सिलेन तामाङ र बुधे तामाङ, भोताङ-३ का शेरबहादुर तामाङ, भोताङ- ८ का छिरिङ तामाङ र बरुवा- १ का मेन्दा तामाङको पनि सनाखत भएको सहायक निरीक्षक पौडेलले वताउनुभयो । अन्य एक जनाको भने अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
बसको करिव ५५ यात्रु रहेको प्रहरीले जनाएको छ । बाटो निकै भिरालो र घुमाउरो भएको तथा क्षमता भन्दा बढि यात्रु सवार रहेकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने पौडेलले जानकारी दिनुभयो । बस सडकवाट झण्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
– See more at: http://www.onlinekhabar.com/2013/05/76029/#sthash.6qeOhiFp.dpuf