‘पटके नालायक’मा परेनन् नेम्वाङ र पोखरेल

१५ जेठ, काठमाडौं । नागरिक समाज र पेशागत संगठनहरुको सञ्जाल पापडद्वारा बुधबार नयाँ बानेश्वरमा आयोजित गणतन्त्र दिवसमा प्लेकार्डमा लेखिएको थियो- ‘अबको चुनावमा के गर्ने ? पटके नालायक हराउने ।’ तर, संविधानसभालाई चारदलको बन्धक बनाएको आरोप खेप्दै आएका तत्कालीन असफल सभामुख सुभासचन्द्र नेम्वाङ भने पापडको ‘पटके नालायक’मा पर्नुभएन ।

त्यसो त ‘पटके नालायक’को उपाधि वितरणकर्ताहरुले आफूलाई मन परेका वा आफ्नो आँखा अगाडि उपस्थित भएका नेतालाई ‘लायक’ ठानेरै होला ताली बजाएरै स्वागत गरे । स्वतस्फूर्त भनिएको गैरदलीय कार्यक्रममा असफल पूर्वसभामुख नेम्वाङलाई देखेपछि कार्यक्रम सञ्चालक ठाकुर बेल्बासेले सहभागीहरुलाई उहाँको स्वागतमा ताली बजाउन लगाउनुभयो ।

असफल संविधानसभाका हर्ताकर्ता रहनुभएका कांग्रेस नेता एवं पूर्वसभासद लक्ष्मणप्रसाद घिमिरेको स्वागतमा पनि आयोजकले सहभागीलाई ताली पड्काउन लगाए । संविधानसभा रहँदा उपप्रधानमन्त्रीसम्म बन्ने र सर्वदलीय बैठक एवं वार्ताहरुमा सहभागी हुने ईश्वर पोखरेलको सम्मानमा पनि मञ्चबाट ताली पड्काउन लगाइयो । वैद्य माओवादीकी प्रवक्ता पम्फा भुसाललाई पनि स्वागत गर्दै ताली बजाइयो । लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न नसकेर दलहरु असफल भएको हुनाले पुरानो र ‘नालायक’ नेतृत्वलाई चुनावमा हराउनुपर्छ भनिए पनि सोही संविधानसभाका असफल सभामुख र मन्त्रीलाई भने किन लायक ठानेर ताली ठोकिएको होला भन्दै केही सहभागीले कानेखुशी गरेका थिए ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका महासचिव सुनीलकुमार पोखरेलले आफूहरुको तीनवटा माग रहेको बताउनुभयो । खिलराज रेग्मीले राजीनामा दिनुपर्ने, लोकमानसिंह कार्कीलाई अख्तियारबाट फिर्ता गरिनुपर्ने र यथाशिघ्र निर्वाचनको वातावरण बनाइनुपर्ने माग उहाँले गर्नुभयो । कार्यक्रममा पत्रकार कनमणि दीक्षित, मानवअधिकारवादस्ी नेता सुशील प्याकुरेल, जनआन्दोलनका घाइते, शहीद परिवार, विभिन्न पेशागत संगठनका पदाधिकारी, वकिल एवं स्वतन्त्ररुपमा नागरिक अगुवाहरुको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा मजदुर एवं सामान्य वर्गको भन्दा उपल्लो एवं मध्यम वर्गका मानिसहरुको बढ्ता सहभागिता देखिन्थ्यो । कार्यक्रममा विभिन्न कलाकार र कविहरु पनि सहभागी थिए ।

 

मुलुकमा दलहरुले रेग्मीलाई सरकार जिम्मा लगाएपछि लोकतन्त्र र गणतन्त्र धरापमा परेको भन्दै सरकारी गणतन्त्र दिवस बहिस्कार गरी आफूहरु सडकमा आएको सहभागीहरुले बताएका थिए । कार्यक्रममा ३ सय रुपैयाका दरले सेतो टीशर्ट बिक्री गरिएको थियो । प्रत्येक टिशर्टबाट ५० रुपैया कार्यक्रममा खर्च गरिने उद्घोष गरिएको थियो ।

गणतन्त्र दिवसमा को-को थिएनन् ?

विगतमा गणतन्त्रका लागि सडकमा आएर योगदा पुर्याउने नागरिक समाजका अगुवा कृष्ण पहाडी, श्याम श्रेष्ठ, देवेन्द्रराज कँडेल, खगेन्द्र संग्रौला, दाह्रीवाल कवि अर्जुन अधिकारी, देउडा गायक नन्दकृष्ण जोशीहरुको भने सहभागिता देखिएन । रुविन गन्धर्व भने कार्यक्रममा सहभागी थिए । बिहान ९ बजेबाट १ घण्टाभन्दा बढी आयोजना गरिउको कार्यक्रममा मञ्चमा पुराना अनुहारहरु कमै देखिए पनि नागरिक अगुवाका रुपमा नयाँ अनुहारहरु देखा परेका थिए ।

पागल भनेपछि माफी

कार्यक्रम सञ्चालनका क्रममा कवि बेलबासेले नयाँ बानेश्वरको कार्यक्रममा सहभागी नहुने र टुँडीखेलमा गणतन्त्र दिवस मनाउनेहरुलाई ‘पागल’ को संज्ञा दिनुभयो । केहीबेर पछि उहाँले नागरिकहरु सभ्य हुनुपर्छ र गल्ती भएमा माफी माग्नु महानता हो भन्दै आफूले पागल शब्द प्रयोग गरेकोमा माइकबाटै माफीसमेत माग्नुभयो ।

तर, पागल भनिएकोमा माफी मागे पनि ‘पटके नालायक’ भनिनु चाँहि सभ्य नागरिकको परिचायक थियो ? यो सभ्य भनाइ नै थियो भने पनि क-कसलाई पटके नालायक भन्ने ? चार दलका चारजना नेतामात्रै पटके नालायक हुन् कि ? कार्यक्रममा आउने नेताहरुचाँहि लायक र नआउनेजति नालायक हुन् ? यसबारेमा आयोजक नागरिक अगुवाहरुले प्रष्ट पारेनन् ।

– See more at: http://www.onlinekhabar.com/2013/05/76189/#sthash.TANaqKRb.dpuf

कमेन्टहरु
Loading...