पत्रकारिताको धर्म नै आलोचना

युवराज घिमिरे

पत्रकारका रूपमा मेरो संलग्नता ‘रिपोर्टिङ’ विधामा नै रहिआएको छ ज्यादाजसो । सम्पादकका रूपमा काम गर्दा पनि ‘रिपोर्टिङमा मेरो चासो र संलग्नता रहि नै रह्यो । त्यसले मलाई नीति–निर्धारण र राज्यसञ्चालनका उपल्ला तहसँगै बोल्न र अभिव्यक्त गर्न नसक्ने जमातसँगै पनि त्यत्तिकै सामीप्य दियो । त्यसैले सबै राम्रो मात्र भइरहेको दाबी गर्ने उपल्लो तहलाई जनताको आशंका र अविश्वासको आँखाले हेर्नुपर्ने मेरो दायित्व बनेको छ ।

स्तम्भकारका रूपमा म पहिले ‘द इन्डियन एक्सप्रेस’ मा आउन थालेँ नियमित रूपमा ‘जिरो आवर’ स्तम्भमा सन् १९९८ को प्रारम्भमा । यद्यपि ‘द टेलिग्राफ’ मा त्योभन्दा धेरै अघि नै ‘विचार स्तम्भ’ लेख्ने अवसर म र मजस्ता अन्य पत्रकारहरूलाई प्राप्त थियो । एम जे अकबर हामी सबैका लागि प्रेरणाका स्रोत थिए (छन् पनि), उनीसँग हामी डराउँथ्यौँ । उनी हामीजस्ता कुनै पनि युवा पत्रकारभन्दा बढी फुर्तिला र मेहनती थिए । घटनास्थलमा आफैँ पुग्थे । त्यसैले रिपोर्टरहरूबीच उनी बढी चर्चित र ‘रोल मोडल’ नै बन्न पुगेका थिए ।

अकबरको राजनीतिमा प्रवेशको केही महिना पछि (सन् १९९१) टेलिग्राफबाट म अलग्गिएँ । पाक्षिक इन्डिया टुडेको प्रधान संवाददाता र पछि विशेष संवाददाताका रूपमा विस्तृत र गहिराइमा घटनाको विश्लेषण र प्रस्तुति मेरो जिम्मेवारी बन्न पुग्यो ।

त्यसपछि ‘आउटलुक’ साप्ताहिकमा प्रवेश गर्दा मैले सहायक सम्पादकको जिम्मेवारी पाए पनि ‘रिपोर्टिङ’ गर्न चाहेको थिएँ । तर, जिम्मेवारीको दायरा फराकिँदै गयो । राजनीतिमा नलागी राजनीति ‘कभर’ गर्नु चुनौती र अवसर दुवै थिए । त्यसपछि इन्डियन एक्सप्रेससँग म आबद्ध भएँ एसोसिएट एडिटरको हैसियतमा । अहिले त्यसमा नियमित स्तम्भ लेख्ने गर्छु- ‘नेक्स्ट डोर नेपाल’, काठमाडौंबाट ।

सामान्य सरकारी स्कुलमा पढे पनि अङ्ग्रेजी सञ्चारमाध्यमसँग जोडिन पुगेकाले अङ्ग्रेजी नै मेरो कामकाजी भाषा बन्न पुग्यो । तर, नेपालका कुनै सञ्चारमाध्यमसँग जोडिने रहर हुँदाहुँदै पनि त्यस्तो अवसर धेरै पछि जुर्यो ।
सन् १९९८ जुलाईमा म दिल्ली छोडेर बीबीसी नेपाली सेवामा प्रवेश गरेँ । म प्रिन्ट पृष्ठभूमिको, रेडियो मेरो रोजाइ थिएन । तर, लन्डनको दुई वर्षे बसाइले नेपाली सञ्चारमाध्यमसँग जोडिने मेरो इच्छा यथार्थमा परिणत हुन थाल्यो । ‘हिमाल’ खबर पत्रिकाको प्रकाशनसँग त्यसमा नियमित स्तम्भ लेख्न कनकमणि दीक्षित र राजेन्द्र दाहालको आग्रहले मलाई एउटा प्रभावशाली मञ्च हासिल भयो । त्यहाँबाट स्वदेश फर्कें,  ‘कान्तिपुर’ दैनिकको सम्पादकका रूपमा । दिल्लीमा इन्डियन एक्प्रेसमा सुरु गरेको स्तम्भ ‘जिरो आवर’ मैले नेपालीमा ‘शून्य समय’ का रूपमा सुरु गरेँ, कान्तिपुरमा ।
पत्रकारिता मेरा लागि जागिर मात्र हैन, केही मूल्य, मान्यता र धर्म पनि हो । यसमा प्रतिबद्धता जनाउँदा जीवन र व्यवसायमा अस्थीरता आउने र आफ्नो अस्तित्व कसरी बचाउने, अर्को चुनौती बन्न सक्छ । त्यस्तो अस्थीरतामा आफ्नै अभिव्यक्तिका लागि मञ्च खोज्नुपर्ने चुनौती थपिन्छ । आफूसँग कुनै मञ्च नहुँदा आफ्नो उपस्थिति देखाउनु सहज कुरा हैन । त्यस अर्थमा म धेरै भाग्यमानी सावित भएको छु । ‘कान्तिपुर’, यसपछि ‘समय’ साप्ताहिक, केही समयका लागि ‘राजधानी’ दैनिकमा मेरो संलग्नताले ‘शून्य समय’ त्यहाँ देखा परे पनि ‘जागिर’ नरहँदा मित्र जीवेन्द्र सिम्खडाले ‘समय’ मा शुक्रबार छापिएजस्तै शून्य समयलाई ‘अन्नपूर्ण पोष्ट’ दैनिकमा शुक्रबार नै छाप्ने चाहना देखाउँदै त्यसको बन्दोबस्त गर्नुभयो । त्यो व्यवस्था अहिले पनि कायम छ ।
विचारबिना समाजमा परिवर्तन र गतिशीलता आउँदैनन् । विचारप्रतिको असहिष्णुताले प्रजातान्त्रिक आवरणमा शासकहरू तानाशाह बन्न जान्छन् । ‘अति महत्वाकांक्षी क्रान्तिकारी’ हरू जनअनुमोदन खोज्नुको साटो विदेशी भक्तिमा आफूलाई समर्पित गर्ने गर्छन् । कोरा क्रान्ति र नाराबाट पत्रकारहरू प्रभावित हुन थाले भने विचारको शक्ति र स्वीकार्यता क्षीण हुन्छ । लहरमा बग्ने प्रवृत्ति पत्रकारिताको ‘चलन’ बन्यो भने त्यसले पेसाको मर्ममा प्रहार गर्छ । विरोधकै लागि विरोधलाई पत्रकारिताको मूल्य भन्न मिल्दैन । तर, राजनीतिक नाताकै आधारमा पत्रकारहरूले दोहोरो मान्यता राखे भने यो पेसाले सम्मान र विश्वास गुमाउँछ, पाठकहरूको ।

त्यस अर्थमा, पेसागत विचलनको, विचारमा दोहोरो मान्यता राखेको र विचारको व्यापार गरेको आरोप मलाई नलागोस् भन्नेबारे म सचेत छु । समय, परिस्थिति र अनुभवले सबैलाई परिपक्व बनाउँछ । चाहे राजा ज्ञानेन्द्रको समयमा त्यसबेलाका शक्तिशाली मन्त्री रमेशनाथ पाण्डेको आलोचना होस् या ०६२/६३ को आन्दोलनपछि गिरिजाप्रसाद कोइरालाका शासनकालमा कृष्ण सिटौला हुन्,  मैले गैरसंवैधानिक प्रवृत्तिमाथि आलोचनात्मक टिप्पणी गर्दै आएको छु । राजाको शासनमा गठित शाही आयोगको जस्तै कोइरालाद्वारा गठित रायमाझी आयोगको राजनीतिक प्रयोजनको मैले विरोध गरेको छु । यता आएर प्रधानन्यायाधीश नै रहेर मन्त्रिपरिषद्का अध्यक्ष बनेर खिलराज रेग्मीले न्यायपालिका तथा सर्वोच्च न्यायालयलाई राजनीतिक दलजस्तै अविश्वसनीय बनाएर न्याय खोज्न अदालतको साटो सडकमा जाने संस्कृति प्रोत्साहित गरेको मान्यता मैले लेख्दै आएको छु । आलोचना रहर हैन, पेसाको धर्म हो । ती आलोचनामा व्यक्तिप्रति विद्वेष नभएर, उनीहरूले आफ्नो पद समाजप्रति समर्पण गर्नुको साटो मुलुक, राष्ट्रियता र प्रजातन्त्रलाई कमजोर बनाउन प्रयोग गरेकोमा तथ्यपरक आक्रोशको अभिव्यक्ति हो ।
०६३ यताकै अवस्थामा ‘लोकतन्त्र’ का नाममा शक्तिको एकीकरण, न्यायपालिकाको अवमूल्यन र प्रतिपक्षको निषेधको सिलसिला सुरु भएको छ । लहरको पक्षमा उभिएर त्यो बेला नेपाल लोकतन्त्र र क्रान्ति निर्दिष्ट मार्गमा अगाडि बढ्दैछ भन्न सहज थियो, तर आउने दिनमा मुलुकले भोग्न सक्ने घटना–दुर्घटना, राष्ट्रको अस्तित्वमा पर्ने खतरा उत्पन्न हुन सक्ने संवैधानिक तथा राजनीतिक रिक्तताबारे मुलुकलाई सचेत गराउनु कठिन थियो । सामान्य नेपाली जनतामा यी आभास नभएका हैनन् । तर उनको मौन भाषा बुझ्न चाहेनन् कतिले । मैले जति बुझेँ, ती ‘शून्य समय’ मार्फत् पोख्ने कोसिस गरेँ । ती विचारहरू कुनै रूपमा यो मुलुकका लागि र नेपालीहरूका लागि उपयोगी सिद्ध हुन पुगे पत्रकारिता मेरो उपस्थिति सार्थक भएको ठान्नेछु ।

नेपाल अहिले पनि अनिश्चितता र अस्थिरता उन्मुख छ । राजनीतिक दलहरू जातीय समूहबाट विस्थापित हुने खतरा छ । राजनीतिक नेतृत्व (चार दलका) ले दल असफल भएको सन्देश दिएका छन् । राजतन्त्र प्रक्रिया र विधिविहीन तरिकाबाट उन्मूलन गरिएपछि रजौटाहरू च्याउ उम्रिएजसरी उम्रिएका छन् र जवाफदेहिताविहीन शैली अनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मुलुकमा शासन गरिरहेका छन् । एउटा महँगो संविधान लेखन–प्रक्रिया तुहिएपछि अर्को त्यत्तिकै महँगो र प्रतिबद्धताविहीन अभ्यास सुरु भएको छ । तर, यी सम्पूर्ण असफलताको जवाफदेहिता कहीं–कतै निर्धारित गरिएको छैन ।
राजनीति झन्झन् अविश्वसनीय र जनताबाट टाढाको प्रक्रिया बन्दै छ । मुलुकमा व्याप्त अनिश्चितता अनि संस्थागत रिक्तता (खासगरी राजतन्त्रको उन्मूलनपछि) का कारण विदेशी उपस्थिति र हालीमुहाली बढ्दै छ । राजनीतिक दलहरूले राष्ट्रको हित केमा छ, परिभाषित गर्न र अडान लिन सकेका छैनन् । विदेशीहरूको राय र वर्चस्वलाई स्वीकार गरे पनि नेपाली राजनीति र महत्वपूर्ण एजेन्डाहरूमा नेपाली जनतालाई स्वामित्व दिनुपर्छ भन्ने अडान उनीहरूले लिन सकेका छैनन ।
कुनै न कुनै रूपमा विधि, प्रक्रिया र प्रजातान्त्रिक मूल्य–मान्यताबाट यो परिस्थितिलाई सम्बोधन गरिनुपर्छ । त्यो सम्भव छ । यी लेख नै मेरा समसामयिक विचारहरू हुन् ।

(भृकुटीमण्डपमा जारी पुस्तक मेलामा आज दिउँसो २:३० बजे सार्वजनिक हुने घिमिरेको पुस्तक ‘शून्य समय’मा प्रकाशित भूमिका ।) cp. setopati.com

कमेन्टहरु
Loading...