राष्ट्रियता र लोकतन्त्रका लागि नागरिक समाजद्वारा खबरदारी

पोखरा, १५ जेठ/पोखराका नागरिक समाजले गणतन्त्र दिवसको सन्दर्भमा प्रतिगमनको विरुद्ध राष्ट्रियता र लोकतन्त्रका लागि पोखराको विभिन्न ठाउँमा व्यानर टाँसेर खबरदारी गरेका छन् । उनीहरुले प्रतिगमन मुर्दावाद, लोकतन्त्र जिन्दावाद, गणतन्त्रको सम्मान गर, दलीय सरकार गठन गर, भ्रष्ट लोकमानलाई बर्खास्त गर, राष्ट्रिय स्वाधीनताको रक्षा, राजनीतिक नैतिकताको सम्मान गर, विदेशी हस्तक्षेप बन्द गर, लगाएतका माग सहितको व्यानर पृथ्वीचोक, सभागृहचोक, विपीचोक र शहिद चोकमा टाँसेर खबरदारी गरेका हुन् ।

DSC03222कार्यक्रममा वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले नागरिकले उमंग र उल्लासका साथ गणतन्त्र दिवस मनाउनु पर्नेमा पीडाबोध गर्नु परेको बताए । पश्चिमाञ्चल मानवअधिकार रक्षक सञ्जालका संयोजक एवं वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरेले जनआन्दोलन ०६२÷०६३ को भावनालाई राजनीतिक दलहरुले संस्थागत विकास गर्न नसकेको भन्दै नागरिकले सचेत भएर दवाव दिनु पर्नेमा जोड दिए ।

जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष कमल अर्यालले राजनीतिक दलहरु निस्कलंकित र उनीहरुबाट संचालित सरकार लोकतान्त्रिक होस् भनेर नागरिक समाजले सशक्त आन्दोलन गर्नु पर्ने बताए । पापड कास्कीका संयोजक ओम शर्माले मुलुकको राजनीतिक अवस्था ०६३ बाट फर्किएर ०३६ सालमा पुगेको बताउदै यसका विरुद्ध सबै नागरिक समाज एकजुट हुनु पर्नेमा जोड दिए । पे्रेस चौतारीका अध्यक्ष श्याम कुँवरले शासन सत्ता सञ्चालन गर्ने पात्र र प्रवृत्ति पनि पनि नफेरिएकाले त्यसलाई सच्याउन नागरिक समाजले निरन्तर खबरदारी गर्नु पर्नेमा जोड दिए ।

संविधान सूचना केन्द्र पोखराका संयोजक जूनाकुमारी गुरुङ, एड्भोकेसी फोरम नेपाल पोखराका संयोजक सरलाकुमारी पाण्डे, जनआन्दोलन शहिद परिवार तथा घाईते समन्वय समितिका अध्यक्ष ढाकाराम पौडेल, नेकपा एमालेका नेता सोमनाथ प्यासी लगायतले खबरदारी गरिरहनु पर्ने बताए ।

कमेन्टहरु
Loading...