चार दलबीच कुरा मिल्नासाथ चुनाव घोषणा ः मन्त्री श्रेष्ठ

पोखरा,११ जेठ /संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले वर्तमान सरकार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने चार दलबीच सहमति हुनासाथ सरकारले चुनाव घोषणा गर्ने बताएका छन् । अहिले प्रमुख चार दलबीच संविधानसभा सदस्य संख्या, थ्रेसहोल्ड र फौज्दारी अभियोग लागेकाहरुलाई पनि उम्मेदबार बन्न दिने कि नदिने भन्ने विषयमा मतभेद रहेको छ । एकिकृत माओवादी र मधेशी मोर्चा संविधानसभा सदस्य संख्या ६ सय १ नै हुुनुपर्ने तथा फौज्दारी अभियोग लागेकाहरुले पनि उम्मेदवार बन्न पाउनुपर्ने पक्षमा देखिएका छन् भने नेपाली काँग्रेस र एमाले त्यसको विरुद्धमा रहेका छन् ।

मन्त्री श्रेष्ठले ४ दलबीच अहिले देखिएको असमझदारी अन्त्य भए सरकारले छिट्टै चुनावको घोषणा गर्ने र सहमति नभएमा पनि सरकार आफ्नै तरिकाले चुनावी अभियानमा लाग्ने दावी गरे । विकास निर्माणबारे अधिकांश समय खर्चेका मन्त्री श्रेष्ठले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया छिट्टै सुरु हुने बताएका छन् । पोखरा उद्योग बाणिज्य संघको आयोजनामा शनिबार पोखरामा आयोजित स्वागत तथा छलफल कार्यक्रममा उनले यही सरकारको पालामा विमानस्थल निर्माण थालिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘अहिले ठेकेदार कम्पनीले पोखरा विमानस्थल निर्माणको खर्चबारे अध्ययन गर्दैछ, हाम्रो एक टोली पनि चीनमा नै छ, कुरा मिल्नासाथ विमानस्थल निर्माण प्रक्रिया टुंगिन्छ ।’–उनले भने । पोखराका साथै भैरहवा र निजगढमा पनि विमानस्थल बनाइने जनाउँदै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति पनि आफ्नो चासोमा परेको उनले जानकारी दिए । विमान खरिद प्रक्रिया अगाडि बढेको, नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रियाले पनि छिट्टै पूर्णता पाउने उनको भनाइ थियो ।

देशका विभिन्न विमानस्थलबाट हवाई सञ्जाल विस्तार गर्न पनि आफूले पहल गर्ने उनले आश्वासन दिए । अन्तरमन्त्रालयबीचको समन्वय अभावले काम गर्न गाह्रो भएको स्वीकार्दै उनले सुविधासम्पन्न रंगशाला निर्माणको लागि पनि आफूले पहल गरेको जानकारी दिए । कार्यक्रम तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले पोखरा विमानस्थल निर्माणको प्रक्रिया छिटो टुंग्याउन तथा आवश्यक पर्ने थप जग्गा अधिग्रहणका लागि सरकारी तदारुकताको अपेक्षा राख्दै आगामी बजेटमार्फत रकम विनियोजनको आग्रह गरे ।

यसैगरी कास्की जिल्लाको पूर्वी सिमाना कोत्रेदेखि हेम्जा फेदीसम्म ६ लेनको सडक निर्माण, पोखरा लुम्बिनी फास्ट ट्रयाक, पृथ्वीराजमार्गको स्तरोन्नति, सिण्डिकेटका कारण पर्यटकीय सवारीले भोग्नु परेको सास्ती अत्यको लागि आवश्यक पहल गरिदिन मन्त्रीसँग अनुरोध गरे । कास्कीमा रहेका फेवाताल ,बेगनास, रुपा, मैदी, गुँदे, दिपाङ, खास्टे र न्यूरेनीको संरक्षण, पोखरा चक्रपथ निर्माण, नयाँ पदयात्रा मार्गको खोजी,अधिकारसम्पन्न ‘पोखरा उपत्यका विकास प्राथिकरण’ गठन हुनुपर्नेमा उनको जोड रहेको थियो । कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य संघ तथा पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले वर्तमान सरकारबाट जनताले सुशासनको अपेक्षा गरेको उल्लेख गर्दै पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरे । राजश्व उठ्ने तर विकास निर्माणमा खर्च हुन नसक्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको धारणा थियो ।

कमेन्टहरु
Loading...