असार १४ मा खुल्ने भो ‘अन्तराष्ट्रिय रक्सी भट्टी’

रेम बिक /पोखरा, ११ जेठ/करिब एक दशकसम्मको लामो समयपछि पोखरामा पुनः नाटक मञ्चन हुने भएको छ । युथ क्रियशन थियटरले लामो समयपछि पोखरामा नाटक ‘अन्तराष्ट्रिय रक्सी भट्टी’को मञ्चन गर्न लागेको हो । नाटककार कृष्ण उदासीको लेखन रहेको नाटकमा निर्देशन समेत लेखककै रहनेछ । थियटरले दिएको जानकारी अनुसार असारको १४ र १५ गते दुई दिन पोखरामा ‘अन्तराष्ट्रिय रक्सी भट्टी’ मञ्चन हुनेछ ।

theatreअसारको १४ गतेसम्म नाटक मञ्चन गर्नका लागी थियटरले पुराना रंगकर्मी हेमन्त पराजुलीको मुख्य संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ । समितिमा पोखरामा रहेका नयाँ तथा पुराना रंगकर्मीहरु सदस्यको रुपमा रहेका छन् । मुल आयोजक समितिले विभिन्न उपसमितिहरु समेत गठन गरेर नाटकको अन्तिम तयारीका लागी आवश्यक क्रियाकलापमा खटिईसकेको संयोजक पराजुलीले जानकारी दिए ।

‘एक दशकपछि ब्यूँतिन लागेको नाटकलाई हामीले निकै राम्रो तरिकाले प्रदर्शनमा ल्याउनका लागी लागिपरेका छौँ ।’ थियटरका अध्यक्ष कपिल शर्मा ‘सन्जोग’ले भने–‘पोखरामा व्यवसायिक नाटक मञ्चन गर्दै जाने उद्देश्यअनुरुप हामीले यी सब गरिरहेका छौँ ।’ थियटरले पोखरामा निरन्तर नाटकहरु मञ्चन गर्दै जानेमा उनी प्रतिबद्ध देखिए ।

‘पोखरामा नाटकको ईतिहास हेर्दा कुनैबेला पोखरा नाटकको राजधानीको रुपमा विकास भैसकेको थियो ।’ अन्तराष्ट्रिय रक्सी भट्टीका निर्देशक कृष्ण उदासीले भने–‘नाटकबाटै पोखरालाई सबैको केन्द्रविन्दु बनाउने हाम्रो योजना हो ।’ पोखरामा नाटकको संभावना प्रशस्तै भएको बताउँदै उदासीले नाटकमा आउन चाहने नयाँ पुस्ता पनि निकै जोश र उत्साह देखाएको बताए । उनले नाटकलाई फिल्मसंगै जोडेर अगाडी बढ्ने जानकारी दिए ।

नाटकमा अभिनयका लागी अहिले कपिल शर्मा, रेम बिक, ईन्दु श्रेष्ठ, मनोज घर्तीमगर, सौगात पोखरेल, सरु लामिछाने, दिपक त्रिपाठी, रेखा पुरी, विभु भुषाल, अस्मिता गुरुङ, मनिष पुरी, प्रकाश पराजुली, पारु भण्डारी, सन्ध्या अधिकारी, प्रदीप सुवेदी, रुपिन्द्रप्रभावि कटु र सुमन लम्साल लगाएतका कलाकारहरुले रिहर्सल गरिरहेका छन् ।

नाटकको प्राविधिक पक्षमा व्यवस्थापन तर्फ हेमन्त पराजुली, संगीततर्फ योगेश काजी,कमला रसाईली, प्रकाशतर्फ प्रकाश गिरी, नृत्य प्रिति गुरुङ, ऋंगार÷भेषभुषातर्फ सञ्जय श्रेष्ठ र सहनिर्देशनमा विभु भुषाल रहेका छन् । नाटकलाई पोखरेली नाट्य प्रतिष्ठानले विशेष सहयोग गरेको छ ।

कमेन्टहरु
Loading...