मंसिरमा निर्वाचन नभए सरकारको अस्तित्व सकिन्छः एमाओवादी प्रवक्ता

११ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले आगामी मंसिर पहिलो साता पनि निर्वाचन गराउन नसके वर्तमान सरकारको अस्तित्व समाप्त हुने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार भेटघाटमा सापकोटाले सरकारको ध्यान निर्वाचन केन्द्रित नभएकामा असन्तुष्टि जनाउनुभयो । संविधानसभाको निर्वाचन गराउने मुख्य जिम्मेवारीसहित गठन गरिएको सरकार जिम्मेवारी पूरा गर्नभन्दा सत्ता सञ्चालनमा अभ्यस्त बन्न खोजेको उहाँको आरोप थियो ।

प्रवक्ता सापकोटाले चाँडोभन्दा चाँडो निर्वाचन मिति घोषणा गर्न सरकारसँग मागसमेत गर्नुभयो । दलहरुबीच सहमति नभए सरकारले स्वविवेकीय अधिकार प्रयोग गरेर भएपनि निर्वाचन मिति घोषणा गर्नसक्ने सापकोटाले उल्लेख गर्नुभयो । उच्चस्तरीय राजनीतिक समितिलाई छलेर काँग्रेस-एमालेले सनिर्वाचन ऐन संशोधनबारे अडान लिनुलाई सापकोटाले राजनीतिक अनैतिकताको संज्ञा दिनुभयो । नमिलेका सबै विषयमा समितिमा छलफल गर्न सकिने भए पनि काँग्रेस-एमालेले छुट्टै बैठक गरेर अडान सार्वजनिक गरेकाले उनीहरु निर्वाचन चाहँदैनन् भन्ने आशंका बढेको सापकोटाको भनाइ छ ।

एमाओवादी प्रवक्ता सापकोटाले निर्वाचन प्रक्रियाको विरोधमा रहेका असन्तुष्ट मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी र उपेन्द्र यादव नेतृत्वको फोरम नेपाललाई सहमतिमा आउन आग्रह गर्नुभयो ।

– See more at: http://www.onlinekhabar.com/2013/05/74710/#sthash.4gCKidgZ.dpuf

कमेन्टहरु
Loading...