माझठानाका नागरिकलाई विद्यालयको चिन्ता

पोखरा, १४ जेठ /कास्कीको माझठाना गाविसका नागरिकहरुले सामुदायिक विद्यालय जोगाउन पहल थालेका छन् । बिद्यार्थी संख्या कम भएका विद्यालय गाभ्न जिल्ला शिक्षा कार्यालयले पत्राचार गरेपछि उनीहरुले विद्यार्थी संख्या बढाउन र विद्यालयको अस्थित्व जीवित राख्न स्थानीय स्तरमा छलफल गरेका छन् । उनीहरुले बोर्डिङ स्कुलका विद्यार्थीलाई सामुदायिकमा ल्याएर भएपनि सामुदायिक विद्यालय बन्द हुन नदिने बताएका छन् ।

स्थानीय रत्नशोभा उच्च माविका प्रधानध्यापक गोपाल बहादुर बुढाथोकीले एकैपटक यति धेरै विद्यालय मर्जको प्रक्रियामा जाँदा विद्यार्थीहरुलाई समस्या हुने बताए । एउटै गाविसमा ४ वटा विद्यालय मर्ज हुने स्थितीमा पुगेको छ, यो दुखद हो, उनले भने–बेलैमा विद्यार्थी संख्या बढाएर राम्रो ब्यवस्थापन गर्न नसके हामीले चाहेर पनि मर्जबाट रोक्न सक्दैनौं, झन् जटिल हुँदै जान्छ । माझठाना गाविसको सार्वजनिक सुनुवाई कार्यक्रमका अधिकांश सहभागीले सामुदायिक विद्यालय मर्ज हुनबाट जोगाउन सबैजना एकजुट हुनुपर्ने र आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने बताए ।

माझठानाका नागरिकलाई विद्यालयको चिन्ता
माझठानाका नागरिकलाई विद्यालयको चिन्ता

गाविस स्तरीय राजनीतिक दलका प्रमुख प्रतिनिधीले पनि बिद्यार्थी संख्या बढी भए विद्यालय मर्ज नहुने भएकाले त्यसतर्फ योजना बनाउने प्रतिबद्धता जनाएका छन् । उनीहरुले गाउँमा गाउँ शिक्षा समिति गठन गर्ने र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने खालका योजना तथा कार्यक्रम सञ्चालन गर्ने बताए । माझठाना गाविसको वडा नम्बर १ स्थित शिव किरण प्रावी, वडा नम्बर ६ को भुर्तेल प्रावी, वडा नम्बर ७ को जनक प्रावी र वडा नम्बर ८ को सरस्वति कुञ्ज प्रावीलाई मर्ज गर्न जिल्ला शिक्षा कार्यालयले पत्राचार गरेको थियो । माझठानामा गाउँ शिक्षा समिति गठन भएपनि क्रियाशिल हुने र गाउँ शिक्षा योजना निर्माण हुन सकेको छैन ।

स्थानीय निकाय श्रोत परिचालन तथा ब्यवस्थापन कार्यविधी २०६९ मा गाउँ शिक्षा योजनामा नपरेका योजनामा बजेट विनियोजन गर्न गाविसलाई बाध्यकारी नहुने ब्यवस्था भएपनि शिक्षा समिति नै निष्क्रिय भएका कारण राजनीतिक दल र विद्यालयका शिक्षकहरुको सहमतिमा शिक्षा क्षेत्रमा लगानी हुँदै आएको छ । विहिबार गाविसले चालू बर्षको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाविसमा सञ्चालित विकास गतिविधी र सेवा प्रबाहको बिषयमा सेवाग्राही नागरिकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो ।

स्थानीय बिष्णुमाया पौडेलले पशु सेवा केन्द्रका कर्मचारी कार्यालय समयमा कार्यालयमा नहुने र कार्यालय समयमा सेवा दिँदा पनि पैसा लिने गरेको गुनासो गरिन् । सेवा केन्द्र प्रमुख सूर्य भण्डारीले किसानकै सेवाका लागि घरघरमा जानु परेकाले कार्यालयमा सँधै बस्न नसकेको बताए । उनले सेवाग्राहीबाट तोकेर सेवा शुल्क नलिएको भन्दै घरमै गएर सेवा दिँदा किसान आँफैले सामान्य शुल्क दिएको बताए । अन्य सहभागीहरुले टुक्रे योजनाले दीर्घकालीन विकास हुन नसकेको, अपाङ्गता तर्फको बजेट खर्च हुन नसकेको, गाविस कार्यालयको भवन जीर्ण भएको, गाउँ शिक्षा समिति गठन नभएको, विषयगत सरकारी कार्यालयहरुले प्रभावकारी सेवा दिन नसकेको लगाएतका गुनासो गरे । गुनासोको सुनुवाई गर्दै गाविस सचिव डिल्लीराम गिरीले वडा तहबाटै टुक्रे योजना माग हुँदा ठूलो बजेटको योजना सञ्चालन गर्न नसकेको बताए ।

कमेन्टहरु
Loading...