
राष्ट्रिय राजनीतिमा कम चासो राख्ने मुस्ताङे जनताले छिटो निर्वाचन भएर मुलुकले निकास पाउने अपेक्षा गरेका छन्। दलहरुले आलटाल गरेको मन स्थानीयलाई नपरेको छोसेरका पूर्व गाविस अध्यक्ष शंखलाल गुरुङले बताए। ‘राजाले पनि निर्वाचन भएर दलहरुले राम्रोसँग शासन चलाऊन् भन्ने अपेक्षा गर्नुभएको छ,’ गुरुङले भने, ‘निर्वाचनमा भएको ढिलाइप्रति उहाँलाई चित्त बुझेको छैन।’
मुलुकमा गणतन्त्र आए पनि मुखिया शासन कायम रहेकोे मुस्ताङी समुदायमा सरकारी नीति–नियमभन्दा आफ्नै ऐन, कानुन छन्। तर, चुनाव भएर बन्द हड्ताल रोकिए हुन्थ्यो भन्ने उनीहरुको चाहना छ। राजनीतिक अस्थिरताले पर्यटन व्यवसायमा असर पुग्ने भएकोले निर्वाचनबाट स्थिरताको अपेक्षा गरेको निर्वाचन अधिकारी सुवेदीले बताए। १३ हजार ७ सय ९९ जनसंख्या रहेको मुस्ताङमा ७ हजार ५ सयले नाम दर्ता गराइसकेका छन्। निर्वाचन कार्यालयले आठ हजार नाम दर्ता हुने अपेक्षा गरेको छ। ‘त्यहाँका धेरैजसो काठमाडौं र पोखरा बस्छन्,’ सुवेदीले भने, ‘तैपति हाम्रो अपेक्षाअनुसार स्थानीयको उत्साह पाइयो।’
त्यहाँ सर्वसाधारणले अन्य राजनीतिक गतिविधिमा धेरै चासो नराख्ने भएकोले दलहरु निर्वाचनताका मात्र घरदैलोमा पुग्ने गर्छन्। मुलुकमा राजनीतिक रिक्तता भए पनि स्थानीयले मुखियालाई जनप्रतिनिधि मानेर काम गर्छन्। पहिलो संविधानसभा निर्वाचनमा गाउँ पुगेका राजनीतिक दल दोस्रो निर्वाचन हुने भएपछि फेरि गाउँ पसेका छन्। दलहरुले प्रशिक्षण, घरदैलो भेटघाटलगायत अभियान चलाएका छन्।
निर्वाचनको माहोल बनाउन एकीकृत माओवादीले एक चरणमा सबै गाविसमा भेटघाट र प्रशिक्षण सम्पन्न गरिसकेको मुस्ताङ इन्चार्ज गायत्री दुराले बताइन्। ‘निर्वाचन भए स्थानीय भोट हाल्न उत्सुक छन्,’ दुराले भनिन्, ‘गाउँ पुग्दा निर्वाचन हुने/नहुने जिज्ञासा जनताले राखे।’ गत संविधानसभा चुनावमा दोस्रो शक्ति बनेको कांग्रेस पनि तयारीमा जुटेको नेता रोमी गौचनले बताए। ‘निर्वाचन केन्द्रित गतिविधि पार्टी कार्यकर्ता र जनतामा लगेका छौं,’ पूर्व सभासद गौचनले भने, ‘मुस्ताङी जनता छिटो निर्वाचन होस् भन्ने चाहन्छन्।’
एमाले पोलिटब्युरो सदस्य परशुराम मेगी कार्यकर्तालाई उत्साहित गर्न बिहिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका छन्। ‘निर्वाचन होला भनेर गाउँ—गाउँमा प्रशिक्षण अभियान चलाएका छौं,’ एमाले मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले भने, ‘केन्द्रीय नेतृत्व ल्याएर जागरुकता बढाएका छौं।’
जनतामा निर्वाचन होला कि नहोला भन्ने अन्योल कायमै रहेको अध्यक्ष गौचनले बताए। ‘रेग्मी नेतृत्वको सरकारले पनि चुनाव मिति घोषणा नगर्दा जनतामा आशंका बढेको छ,’ गौचनले भने। cp. nagriknews.com