काठमाडौ, २२ फागुन /नेपाली कांग्रेस केन्द्रीय समितिको विभिन्न पदका लागि नयाँ नेतृत्व लिन ३ सय १५ उम्मेद्वार मैदानमा उत्रने भएका छन्। मनोनयन फिर्ता लिन दिइएको शनिबार अपरान्हसम्ममा ६० जना सदस्यहरुले विभिन्न पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अब बाँकि रहेका प्रत्यासीबीच प्रतिस्पर्धा हुने भएको छ।
![काग्रेस महाधिबेसन](https://ganthan.com/wp-content/uploads/Congress-Election-1.jpg)
केन्द्रीय निर्वाचन समितिका अनुसार सभापति पदका लागि कार्यबहाक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाबीच प्रतिस्पर्धा हुँदैछ। महामन्त्री र कोषाध्यक्ष पदका लागि पौडेल नेतृत्वको प्यानलबाट क्रमशः शशांक कोइराला र सितादेवी यादव, देउवा नेतृत्वको प्यानलबाट क्रमशः अर्जुनरसिंह केसी र चित्रलेखा यादव तथा सिटौलाको समूहबाट गगन थापा र उमाकान्त चौधरी मैदानमा उत्रिएका छन्। कोषाध्यक्ष पदमा यी कुनै समूहमा नबसी कृष्ण कार्कीले पनि उम्मेदवारी दिएका छन्।
खुला २५ जना केन्द्रीय सदस्यको निर्वाचनमा ९० जना उम्मेदवार रहेका छन्। महिला आरक्षण तर्फको ६ सिटमा ३८ जना, प्रदेश तर्फ २ पदका लागि एक नम्बर प्रदेशमा १३ जना, २ मा ५ जना, प्रदेश नम्बर ३ मा १८, प्रदेश ४ मा ९, प्रदेश ५ मा १० प्रदेश ६ मा ५ र सात नम्बर प्रदेशमा ७ जना उम्मेदवार रहेका छन्।
जनजाति पुरुष ३ पदका लागि ४० जना महिला २ सिटका लागि १२ जना, दलित पुरुष ३ पदका लागि २० जना, महिला २ पदका लागि ५ जनाको उम्मेदवारी कायम रहेको छ। मधेसी आरक्षण तर्फको पुरुष ३ पदका लागि १५ जना, मधेसी महिला २ सिटका लागि ९ जना र मुस्लिम १ पदका लागि ६ जनाबीच प्रतिस्पर्धा हुदैछ।