जेइचीको भ्रमण स्थगित

हङकङ, जेष्ठ ४ – चीन सरकारका स्टेट काउन्सिलर याङ जेइचीले शनिबारदेखि गर्ने भनिएको दुई दिने नेपाल भ्रमण स्थगित भएको छ । परराष्ट्र मन्त्रालयद्वारा वैशाख २७ मा आयोजित नियमित पत्रकार सम्मेलनमा जेठ ४ देखि उनको भ्रमण हुने जनाइएको थियो ।image

चिनियाँ पक्षले भने हालसम्म यसबारे कुनै जानकारी सार्वजनिक गरेको छैन । उच्च अधिकारी जेइचीले राष्ट्रपति रामवरण यादव, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तय थियो । ‘चिनियाँ दूतावासले भ्रमण हालका लागि स्थगन गरिएको भन्ने औपचारिक जानकारी गराएको छ,’ परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता दुर्गाबहादुर सुवेदीले कान्तिपुरसँग भने, ‘तर यसको कारण खुलाइएको छैन ।’ यसअघि सबै कुरा निश्चित भएरै चिनियाँ दूतावासको सहकार्यमा परराष्ट्रले भ्रमणको तयारी थालेको समेत उनले बताए ।

चिनियाँ प्रधानमन्त्री ली खछ्याङ आइतबारदेखि तीनदिने भारत भ्रमणमा जाँदैछन् । चिनियाँ विदेश नीति निर्माणका प्रमुख व्यक्ति जेइचीसमेत सम्भवतः भ्रमण टोलीमै संलग्न हुने भएकाले हालका लागि नेपाल आगमन स्थगित भएको हुनसक्ने परराष्ट्र स्रोतले बतायो ।

यसैबीच, उपराष्ट्रपति परमानन्द झाले दक्षिण पश्चिम चीनको कुनमिङमा आयोजना हुने ‘साउथ एसिया एक्स्पो’ मा सहभागिता जनाउने भएका छन् । यसअघि राष्ट्रपति रामवरण यादवले सहभागिता जनाउने भनिएपनि चिनियाँ समकक्षी सी जिनपिङसँगको भेट निश्चित हुन नसकेपछि उपराष्ट्रपति झालाई पठाउने तयारी थालिएको हो । cp.ekantipur.com

कमेन्टहरु
Loading...