लामालाई हामीले मारेको हैन : दाहाल

३ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य कुमार दाहालले मदन भण्डारीका गाडीचालक अमर लामालाई आफूहरुले नमारेको बताउनुभएको छ । एमाले नेता माधवकुमार नेपालले शुक्रबार दासढुंगामा आयोजित कार्यक्रममा अमर लामाको हत्याबारे एमाओवादीले जवाफ दिनुपर्ने बताएकै दिन दाहालले लामाको हत्या आफ्नो पार्टीले नगरेको दाबी गर्नुभएको हो ।

दासढुंगा काण्डका एकमात्र जीवित साक्षी लामालाई ०६० साल साउन १ गते काठमाडौंको कीर्तिपुरमा गोली हानी हत्या गरिएको थियो । मदन भण्डारीको हत्यारा यही हो भन्दै दिउँसै बजारमा लखेटेर लामामाथि गोली चलाइएको प्रत्यक्षदर्शीहरुले बताउँदै आएका छन् । लामाको हत्या माओवादीले गरेको अहिलेसम्म अनुमान गरिँदै आएको छ । त्यसरी लामाको हत्या भएका बेला एमाओवादीको काठमाडौं उपत्यका हेर्ने जिम्मवारी दाहालको थियो ।

‘म ०५९ साल असारदेखि ०६० सालभरि काठमाडौं उपत्यकाको इञ्चार्ज छु, अमर लामालाई मार्ने पार्टीको कुनै निर्देशन थिएन र यो घटनामा माओवादी पार्टीको कुनै संलग्नता छैन ।’- दाहालले अनलाइनखबरसँग भन्नुभयो- ‘माओवादीले मार्यो भनेर हामीमाथि गलत आरोप लगाइएको हो । त्यतिबेला माओवादीले मारेको प्रचार नभएकाले हामीले यो घटनाको खण्डन नगरेका हौं ।’ लामाको हत्या भएको मितिमा दाहालले पार्टीको तीन जिल्ला हेनुहुन्थ्यो भने काठमाडौंको नेतृत्वचाँहि पवनमान श्रेष्ठका हातमा थियो ।

लामा हत्याबारे दुई फरक चर्चा :

लामाको हत्या कसले र किन गर्यो भन्ने अहिलेसम्म खुलेको छैन । तर, यसबारे दुईवटा चर्चा सुनिन्छन् ।

एक : माओवादीले अमर लामालाई अपहरण गरेर मकवानपुरतर्फ लैजाने र आफ्नो कब्जामा राखेर वयान लिने योजना बनाएको थियो । त्यसरी उनीबाट मदन भण्डारीको हत्यारा पत्ता लगाउने र एमालेले गर्न नसकेको काम गरेको देखाई मदनका समर्थकहरुको ‘सेन्टिमेन्ट’ आफूतिर तान्ने माओवादीको योजना रहेको दाबी एकथरिको छ । तर, कीर्तिपुर पुर्याउँदा नपुर्याउँदै सरकारी सुरक्षाफौजको घेरामा परेपछि लामालाई उम्कन नदिई खेदेर गोली प्रहार गरिएको अनुमान गरिँदै आएको छ ।

दोस्रो, मदन भण्डारीको हत्यासम्बन्धी प्रमाण लुकाउन र नष्ट गर्न चाहनेहरुले माओवादीको भेष धारणा गरेर लामालाई सिध्याएको अर्कोथरिको विश्लेषण छ । माओवादीको नाममा हत्या गरिदिएपछि लामा हत्याको दोष माओवादीतर्फ सोझिने र आफूहरु उम्कन सक्ने योजना बनाई भण्डारीकै हत्याराको योजनामा लामा मारिएको अनुमान गरिँदै आएको छ । तर, यी दुईवटा विश्लेषणमध्ये कुन योजना अन्तरगत लामाको हत्या भयो, १० वर्ष पुग्न लाग्दा पनि स्पष्ट छैन ।

लामा हत्या रहस्यमय छ : पण्डित

amar-lama-ko-ghar

अमर लामाका वुवा-आमा बस्ने घर

दासढुंगा चलचित्र निर्देशक मनोज पण्डितको अनुमान चाँहि पहिले माओवादीको नेतृत्वबाट लामालाई पक्रेर ल्याउन आदेश आएको र तीनजना कार्यकर्ताहरु खटिएको तर, पछि वीचमा कब्जामा लिएर ल्याउने कि सिध्याइदिने भन्ने अलमल भइरहेका बेला सिध्याउने अर्को आदेश आएकाले सिध्याइएको हुन सक्ने भन्ने छ । ‘चलचित्र निर्माणपूर्व आफूलाई लामाको सुटर बताउने एकजना गोरखातिरको मान्छेसँग मेरो भेट भएको थियो, उनका अनुसार पहिले लामालाई समातेर ल्याउन भनियो तर, समातेपछि वीचैमा अर्कै आदेश गरियो ।’

लामाको परिवारमा बिजोग

अमर लामाको हत्या भएपछि तनहुँमा रहेको उनको परिवारको अवस्था दयनीय छ । पहिले पनि समान्य आर्थिक अवस्था रहेका लामाकी पत्नी बनीबुतो गर्न हिँड्ने र एकजना छोरो विदेश गएको स्रोत बताउँछ । बूढा भएका बुबाआमा आफ्ना छोराको हत्यारा पत्तो नलागेकामा चिन्तित छन्, जति चिन्तत मदन-आश्रतिको हत्यारा पत्ता नलागेकोमा एमालेका नेता, कार्यकर्ताहरु छन् ।

– See more at: http://www.onlinekhabar.com/2013/05/71835/#sthash.c15eqKyx.dpuf

कमेन्टहरु
Loading...