‘हामीलाई राजीनामाका लागि प्रेसर गरियो’ : राष्ट्रपतिका सल्लाहकार

३० वैशाख, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवका कानूनी सल्लाहकार सूर्य ढुंगेलले एउटा सानो नियुक्तिको विषयलाई लिएर राजीनामा दिनु उचित नहुने बताउनुभएको छ । तर, राजीनामा दिए हुन्थ्यो भनेर आफूहरुमाथि प्रेस गरिएको ढुंगेलको गुनासो छ ।

Rambaranपूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई राष्ट्रपतिले अख्तियार प्रमुख बनाएकोमा असन्तुष्टि जनाउँदै राष्ट्रपतिका सल्लाहकारहरुले राजीनामा दिन लागेको चर्चा चलेपछि ढुंगेलले यस्तो बताउनुभएको हो । ’एउटा सानो एप्पोइन्मेन्टको इस्युलाई लिएर राजीनामा दिन थाल्यो भने राम्रो होइन ।’- ढुंगेलले अनलाइनखबरसँग भन्नुभयो-’राजनीनामाको जुन हल्ला चलेको छ, यो सत्य होइन ।’

राष्ट्रपतिले सल्लाहकारहरुको सल्लाह मानेर काम गर्नुपर्छ भन्ने आग्रह सही नभएको बताउँदै उहाँले राष्ट्रपतिले सल्लाह मागेको अवस्थामा मात्रै आफूहरुले सल्लाह दिने प्रचलन रहेको बताउनुभयो । राष्ट्रपतिले पार्टीनिकट वकिलहरुले दिएको सल्लाहअनुसार नभई राष्ट्रिय हितलाई हेरेर निर्णय गर्ने उहाँले स्पष्ट पार्नुभयो । ‘पार्टी विशेषका वकिलहरुका आफ्नैखाले आग्रह हुन सक्छन्, तर राष्ट्रपतिले प्रोफेसनल व्यक्तिको सल्लाह लिने हो र राष्ट्रिय हितलाई हेरेर निर्णय गर्ने हो ।’ सल्लाहकार ढुंगेलले भन्नुभयो ।

लोकमान प्रकरणमा राष्ट्रपतिले लिएको निर्णयबाट राष्ट्रपतिसँग असन्तुष्ट रहेका केही व्यक्तिहरुले सल्लाहकारहरुले राजीनामा गरिदिए हुन्थ्यो भन्ने आफूहरुमाथि प्रेसर गर्ने उद्देश्यले झुठो प्रचारबाजी गरिएको ढुंगेलले दाबी गर्नुभयो ।

राष्ट्रपति डा. रामवरण यादवका राजनीतिक सल्लाहकार हरि शर्माले राजीनामा दिइसकेको र कानूनी सल्लाहकार ढुंगेलका साथै प्रेस सल्लाहकार राजेन्द्र दहालले समेत राजीनामा दिन लागेको चर्चा चलेपछि शीतलनिवास स्रोतले यसको अनौपचारिकरुपमा खण्डन गरेको छ ।

राष्ट्रपति भनेका राष्ट्रपति हुन् : दाहाल

राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दहालले पनि कुनै सल्लाहकारले राजीनामा नदिएको बताउनुभयो । कतिपय विषयमा मततमान्तर हुन सक्छ, तर यसैलाई लिएर कसैलाई बस्न मन लाग्दैन भने झोलीतुम्बा बोकेर हिँडे हुन्छ, तर यहाँ बसेर राजनीतिक गर्न पाइँदैन ।’ दहालले अनलाइनखबरसँग भन्नुभयो-’राष्ट्रपति भनेका राष्टपति हुन्, हामी त उहाँका सहयोगीमात्रै हौं, राष्ट्रपतिका अफिसियल सल्लाहकार प्रधानमन्त्री हुन् ।’ प्रेस सल्लाहकार दाहालले राजनीतिक सल्लाहकार हरि शर्माले पनि राजीनामा नदिएको र सोमबार साँझ व्यक्तिगत कामले विदेश भ्रमणमा जान लागेको बताउनुभयो ।

त्यसैगरी राष्ट्रपतिका स्वकीय सचिव ललित बस्नेतले पनि सल्लाहकारहरुको राजीनामा हल्ला सही नभएको बताउनुभयो ।

www.onlinekhabar.com/2013/05/70431/#sthash.6BqglGC7.dpuf

कमेन्टहरु
Loading...