पर्यटन मेलामा होटल संघको सहभागीता

पोखरा, २७ वैशाख/राजधानीको भृकुटीमण्डपमा शुक्रवारबाट सुरु भएको तीन दिने पाँचौं राष्ट्रिय पर्यटन मेला २०७० मा पश्चिमाञ्चल होटल संघ पोखराले सहभागिता जनाइरहेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गरेको मेलामा संघले स्टल राखेको र सोही अनुसार पोखरा तथा वरपरको क्षेत्रको प्रवद्र्धन कार्य जारी राखेको संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिए ।

मेलामा संघका अध्यक्ष शर्मा, निवर्तमान अध्यक्ष विप्लव पौडेल, प्रथम उपाध्यक्ष भरतराज पराजुली, सचिव गणेशराज पहारी, कार्यसमिति सदस्य राजेन्द्र ढकाल र अन्य सदस्यहरु हेमराज पहारी तथा महादेव भण्डारीको सहभागिता रहेको छ । मेलामा राखिएको स्टलमा संघले पोखरा सम्वन्धि प्रचार सामाग्रीहरु आगन्तुकहरुलाई वितरण गर्ने र पोखरा तथा वरपरको क्षेत्रबारे जानकारी दिने काम गरिरहेको संघका सचिव गणेशराज पहारीले जानकारी दिए ।

सिटी म्याप, होटेल संघको डाइरेक्ट्री, पोखरा सम्वन्धि व्रोसर तथा डीभीडी समेत वितरण भइरहेको छ । नेपालका पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने र आन्तरिक पर्यटन प्रवद्र्धन जस्ता मुख्य उद्धेश्यका साथ नेपाल पर्यटन वोर्डले मेला आयोजना गरेको हो । पर्यटनका माध्यमबाट ग्रामीण क्षेत्रको आर्थिक उन्नतीमा बढवा दिने र खासगरी होमस्टे पर्यटन प्रवद्र्धनमा समेत जोड दिने उद्धेश्य मेलाले लिएको वोर्डले जनाएको छ ।

नेपालका ५० भन्दा बढी जिल्लाबाट सहभागिता जनाइएको मेलामा सांस्कृति नाच, झाँकी र विभिन्न क्षेत्रको पर्यटन सम्वन्धि वृत्तचित्र प्रदर्शन गर्ने जस्ता आकर्षणहरु समेटिएको वोर्डका प्रवन्धक लिलावहादुर बानियाले जानकारी दिए । वोर्डको वार्षिक कार्यक्रम अनुसार आयोजित मेलामा एक सय भन्दा बढी स्टलहरु रहेका छन् । मेलामा करिव ५० हजार आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

कमेन्टहरु
Loading...