पोखरामा ‘एक दिनका छोराछोरी अभियान’ जारी

पोखरा, २४ वैशाख/मुनाल स्टोर्स पोखराका सञ्चालक तथा युवा व्यवसायी मोती भूजेलको पहलमा पोखराबाट शुरु ‘एक दिनका छोराछोरी’ अभियान जारीरहेको छ । बोक्सीको आरोपमा पीडित कैलाली बेलादेवीपुरकी ६० वर्षीया राजकुमारी रानालाई उपचारार्थ सहयोग गर्ने उद्देश्यले अभियान शुरु गरिएको भूजेलले बताए । एक महिना अगाडिदेखि शुरु भएको अभियानका लागि शनिबारसम्म ५५ हजार ७ सय २५ रुपैयाँ सहयोग संकलन भएको छ ।

अभियानका लागि स्थानीय युवा विकास थापा, राजेन्द्रप्रसाद शर्मा, नारायण बास्तोला, महेन्द्र राना लगायतले साथ दिएका छन् । ‘अभियानका लागि देश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ’ भूजेलले अभियानलाई भने, ‘संकलित रकम कैलाली पुगेर पीडित महिलालाई छिट्टै बुझाउँछौं ।’ जोसुकै व्यक्तिले पनि अभियानको सदस्य बनेर यातना पीडित महिला सहयोग गर्न सकिने भूजेलले बताए । अभियानको सदस्य बन्नका लागि रू १ हजार १ रुपैयाँ लाग्नेछ । सहयोग संकलनका लागि विश्व विकास बैंक र एन.सी.सी. बंैकमा खाता खोलिएको छ ।

यसैबीच, बोक्सी आरोपमा कुटिएकी रानाको उपचार जारी रहेको बताइएको छ । कोहलपुर मेडिकल कलेजको उपचारपछि धनगढी फर्केकी रानालाई मानसिक उपचारका लागि महिला पुनस्र्थापना केन्द्रमा राखिएको छ । पीडित महिला राति बर्बराउने तथा कराउने गर्छिन् । वैशाख ५ देखि उनलाई महिला पुनःस्थापना केन्द्रमा राखिएको हो ।

कमेन्टहरु
Loading...