लुम्रे घलेल कालीमाटी कृषि सडकको उद्घाटन

पोखरा, २४ वैशाख/ लुम्रे घलेल कालीमाटी कृषि सडकको सोमबार उद्घाटन गरिएको छ । जिल्ला विकास समितीको कार्यालय कास्कीका प्रमुख स्थानीय विकास अधिकारी ईश्वराज पौडेलले सडकको उद्घाटन गर्दै गाउँलेहरुले विकासका लागि सडक निर्माणमा पु¥याएको योगदानको खुलेरै प्रशंसा गरे । स्थानीय विकास अधिकारी पौडेलले भने–‘विकासको पहिलो आधार बाटो नै हो, बाटो निर्माण कार्यमा सबैजना जुटेर अघि बढेकोमा धेरै खुशी लागेको छ ।’

स्थानीय विकास अधिकारी पौडेलले भने–‘विकास भन्ने वित्तिकै डोजरको विकास भयो, विकासको मोडल अलि गलत भयो कि भन्ने लागेको छ ।’ लुम्रे घलेल कालीमाटी कृषि सडक बनाउने क्रममा एउटा चट्टाने भीर फोर्नका लागि ११ लाख रुपैयाँ खर्च भएकोमा थप प्रसंग जोड्दै स्थानीय विकास अधिकारी पौडेलले यस्ता कार्यमा फेरि डोजर नहुने हो भने पाँच वर्ष लाग्ने बाध्यता पनि रहेको बताए । विकासको उल्टो गति चलिरहेकोले गाउँघर खाली हुँदै गईरहेको र मानिसहरु बढि शहर केन्द्रित हुँदा गाउँको विकास हुन नसकेको दावी उनको थियो ।

तीन किलोमिटर नयाँ र तीन किलोमिटर पुरानो बाटोलाई मर्मत गरी ६ किलोमिटर बाटोको उक्त कृषि सडक २८ लाख ४३ हजार सातसय पाँच रुपैयाँको लागतमा निर्माण गरिएको थियो । कृषि सडक निर्माण कार्यमा पाँच लाख रुपैयाँ भने ऋण लागेको बाटो निर्माण समितीका अध्यक्ष गौरीप्रसाद दाहालले उद्घाटन कार्यक्रममा जानकारी दिए । मर्दी खोला युवा क्लबका अध्यक्ष राम गुरुङले विकास र निर्माणको विषयमा अन्य गाविसहरु भन्दा ल्वाङघलेललाई कम प्राथमिकतामा राख्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गरे । अध्यक्ष गुरुङले यदि सरकारी निकाय र सम्बन्धित पक्षले पटक–पटकको अनुरोध र आग्रहलाई सुन्दैन भने जिल्ला विकास समितीको कार्यालयमा आएर महिनौं दिनसम्म गाउँलेहरुले ताला लगाउने चेतावनी समेत दिए । अध्यक्ष गुरुङको गाउँको विकासमा राज्यले उपेक्षा गरेको विषयमा मन्तव्य दिई रहँदा गाउँलेहरुले उनको भनाईमा समर्थन जनाई रहेका थिए ।

कार्यक्रममा नेकपा एमालेका नेतृ सिता गिरीले गाउँको विकासका लागि सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिईन् । नेतृ गिरीले भनिन्–‘अब गाउँको विकास विना देशको विकास सम्भव छैन, त्यसैले गाउँको विकासका लागि सबै शक्तिहरु मिल्न जरुरी छ ।’ पोखरा उपत्यका नगर विकास समितीका अध्यक्ष जीतमान गुरुङले दलहरुको खिचातानीका कारण विकास निर्माणका कार्यहरुमा समस्या खडा भईरहेको बताए । १० वर्षे जनयुद्धकालमा आफू भूमिगत भएर रहेको सो ठाउँको विकासका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत अध्यक्ष गुरुङले व्यक्त गरे ।

संघीय तथा स्थानीय विकास मन्त्रालयका योजना प्रमुख गंगाबहादुर बस्नेतले गाउँघरको विकासमा स्वयम् गाउँलेहरु नै सचेत भएर अघि बढेमा सम्बन्धित निकायहरु सहयोग र विकासका लागि बाध्य हुने धारणा व्यक्त गरे । योजना प्रमुख बस्नेतले सरकारको प्रमुख प्राथमिकतामा समेत यस्ता गाउँहरु पर्ने भएकोले क्रमशः विकासको बाटोमा अघि बढिरहेको समेत बताए ।

कार्यक्रममा बाटो निर्माण समितीका सचिव शिवप्रसाद भण्डारी आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव भण्डारीले बाटो निर्माणका लागि गाविसबाट पाँचलाख रुपैयाँ, केन्द्रबाट आठलाख रुपैयाँ र गाउँलेदेखि सबैको सहयोगबाट बाँकी १० लाख रुपैयाँ संकलन गरिएको बताए । उनले पाँचलाख रुपैयाँ ऋण समेत रहेकोले थप सहयोग र बाटो निर्माणका लागि स्वस्फूर्त रुपमा सहयोग प्रदान हुने क्रम पनि जारी रहेको जानकारी दिए ।

नेकपा एमालेका दामोदर बैरागी र दुर्गा गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि विजुली गुरुङ, रक्षा बहादुर क्षेत्री, टेकनाथ गौतम, रोशन केसी, धनबहादुर गुरुङ, विष्णुप्रसाद ढुंगाना, बमबहादुर गुरुङ लगायतले कृषि सडकको महत्व र यसले पु¥याउने योगदानका विषयमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...