काठमाडौं प्रहरी प्रमुख फेरिए

प्रतिमा बाँस्कोटा

काठमाडौं, वैशाख १६ – महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख परिवर्तन भएका छन् । एसएसपी रणबहादुर चन्दको स्थानमा प्रहरी मुख्यालयको बिशेष ब्युरोमा कार्यररत एसएसपी सुवोध घिमिरे आएका हुन् । मुख्यालयको सिफारिसमा गृह मन्त्रालयले सोमबार एसएसपी चन्दको स्थानमा घिमिरेलाई पठाएको हो । चन्दलाई लागु औषध नियन्त्रण ब्युरो नयाँ बानेश्वर सरुवा गरिएको छ ।

एसएसपी चन्दको कार्यक्षमता, कार्यशैली सन्तोषजनक नभएका कारण उनलाई परिवर्तन गरिएको मुख्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार काठमाडौं प्रहरी जस्तो अतिसंवेदनशिल जिम्मेवारी चन्दले राम्ररी ननिभाएको आरोप छ । उनी माथिल्लो कार्यालय र आफूभन्दा तलका एसपी र डिएसपीहरुलाई समेत जानकारी नगराई ३/४ दिन बेपत्ता हुने गरेका थिए ।

दुई दिन अघि उनकी कान्छी श्रीमती गोमा सुवेदी काठमाडौं प्रहरी कार्यालयमा गएर त्यहाँका एसपी, डिएसपीलाई थर्काउँदै थुनामा रहेका अन्ना क्यासिनोका सञ्चालक तप्त विष्टलाई भेटेकी थिइन् । त्यस कार्यबाट मुख्यालय र उनीसंगै काम गर्ने अन्य प्रहरी अधिकृत रुष्ट बनेका थिए । उनीहरुले चन्दसँग काम गर्न नसक्ने गुनासो मुख्यालयमा पटक/पटक गरेका थिए ।

 

कमेन्टहरु
Loading...