बिरामीको पेटभित्र कपडा

काठमाडौ, वैशाख १३ (सेतोपाटी) /भारतको रक्सौलस्थित एक क्लिनिकमा पाठेघर अप्रेसन गरिएको बिरामीको पेटभित्र कपडा फेला परेको छ। पर्साको रानीगन्ज रहरियाकी ४२ वर्षे प्रभावती देवी गएको फागुन २० मा सिमावर्ती रक्सौलस्थित डा. अहमद कलामको क्लिनिकमा पाठेघरको अप्रेसन भएको थियो। अप्रेसनपछि निरन्तरको पेट दुखाइले अचेत भएपछि बिहीबार वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालमा अर्को अप्रेसन गर्दा उनको पेटमा कपडा अड्केको पाइएको आजको नागरिकमा खबर छ ।
सोमबार भाइ जादोलाल पटेलले प्रभावतीलाई अस्पताल भर्ना गराएयता उनको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको थियो। अस्पतालका सर्जनले निर्णय गरेपछि साढे २ घन्टा लगाएर डा. चित्तरन्जन साहले बिहीबार अर्को अप्रेसन गरेका हुन्। बिरामीको पेटभित्र २५ सेन्टिमिटर लामो र त्यत्तिकै चौडा कपडा फेला परेको थियो। ‘अप्रेसन क्रममा रगत पुछ्न प्रयोग गरिने टेट्रा पेटभित्रबाट फेला पर्‍यो,’ डा. साहले नागरिकलाई भने,’त्यो कपडा र त्यसले गर्दा पेटको आन्द्रा कुहिएको पाइएको छ, २४ सेन्टिमिटर कुहिएको आन्द्रा काटेर निकालेका छौं।’

आन्द्रा कुहिएर प्वाल परेकाले पेटभित्र दिसा र पिप फैलेर पेटको सम्पूर्ण प्रणाली बिग्रेको अवस्थामा जोखिमपूर्ण अप्रेसन गरिएको डा. साहले बताए। ४८ घन्टापछि मात्र बिरामीको अवस्थाबारे यकिन गर्न सकिने उनको भनाइ छ। अप्रेसनमा आन्द्रा काटिएकाले बिरामीको दिसा गर्ने निकास अर्कैतिर निकालिएको छ। ६ हप्तापछि फेरि अर्को अप्रेसन गरी दिसाको निकास मलद्वारबाट जोड्नुपर्ने डा. साहले बताए। बिरामीका परिवारजन भने मर्माहत छन्।

‘डा. कलामकहाँ दस हजार भारतीय रुपैयाँ खर्च गरेर अप्रेसन गराएका थियौं, अप्रेसनपछि अवस्था झन् बिग्रियो,’ भाइ जादेलालले भने, ‘आठ दिन भर्ना गर्दा पनि निको नभएपछि औषधी खाँदै गर्नू भनेर डाक्टरले फिर्ता पठाएका थिए, बीचमा फेरि लग्यौं, तर निको नभएपछि भर्ना गर्न यहाँ ल्यायौं।’ उनी गाउँलेको सल्लाहअनुसार उपचारका लागि रक्सौल गएर यस्तो समस्यामा परेको बताउँछन्। डा.अहमद कलामको ‘प्रेस्त्रि्कप्सन’ पुर्जीअनुसार उनी फिजिसियन हुन्। नारायणी उपक्षेत्रीय अस्पतालका स्वास्थ्यकर्मी जैमोद ठाकुरले फिजिसियनले अप्रेसन गरेकोमा अश्चर्य व्यक्त गरे।

अप्रेसनपछि अस्पतालको सर्जिकल वार्डमा भर्ना गरिएकी प्रभावतीको अब्जर्भेसन (विशेष रेखदेख)मा स्वास्थ्यकर्मी खटेका छन्। डा. साह भन्छन्,’ज्यान जोगाउने प्रयास भइरहेको छ।’ अस्पतालको सर्जिकल युनिटले बिरामीको ज्यान बचाउन सम्पूर्ण प्रयास गरिरहेको उनले जानकारी गराए । cp

कमेन्टहरु
Loading...