वार्षिकोत्सवमा पत्रकार कल्याण कोषलाई सहयोग

पोखरा, 2 बैशाख /आदर्श समाज राष्ट्रिय दैनिकले १७ औं वार्षिकोत्सवको अवसरमा पत्रकार कल्याण कोष स्थापनाका लागि सहयोग प्रदान गरेको छ । आइतबार आयोजित समारोहमा पत्रिकाका व्यवस्थापक विजयालक्ष्मी बास्तोलाले कोषका लागि स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष दीपक श्रेष्ठलार्ई पच्चीस हजार एक सय एक रुपैयाँको चेक हस्तान्तरण गरिन्।

सहयोगसँगै स्वतन्त्र पत्रकार संघ कास्कीले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषको समेत शुभारम्भ भएको छ । सोही समारोहबीच पत्रकार गुप्तप्रसाद शर्माले कल्याण कोषका लागि एक हजार रुपैयाँ प्रदान गरेका थिए । अधिवक्ता तिलक पराजुलीले दुई सय पाँच रुपैयाँ प्रदान गरे । अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक तथा गजलकार अनुराग अधिकारीले पाँच सय पाँच रुपैयाँ प्रदान गरेका छन् ।

यसैगरी सोही समारोहमा आदर्श समाज राष्ट्रिय दैनिकले गोरखापत्र बाजे (चन्द्रकान्त पौडेल) को स्मृतिमा पुरस्कार कोष स्थापना गर्न एक हजार एक सय रुपैयाँ प्रदान गरेको छ । यसैगरी उक्त पुरस्कार कोषका लागि वरिष्ठ अधिवक्ता तिलक आचार्य र अधिवक्ता तिलक पराजुलीले जनही पाँच सय रुपैयाँ प्रदान गरेका छन् ।उक्त रकम स्वतन्त्र पत्रकार संघ कास्कीका कोषाध्यक्ष दुर्गा राना मगरलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, उद्योगी, व्यवसायी , सञ्चारकर्मी लगायतले शुभकामना दिएका थिए ।

 

कमेन्टहरु
Loading...