दिपेन्द्रको ‘जुनी भरी’ भिडियो प्रिमियर

गिता रानामगर/ पोखरा, १ बैशाख / नयाँ वर्षको अवसर पारेर ‘द ब्ल्याक स्याडो प्रोडक्सन’ पोखराले गायक दिपेन्द्र गहतराजको एउटा गीतको म्युजिक भिडियो प्रिमियर गरेको छ । ‘जुनी भरी’ बोलको गीतको म्युजिक भिडियो प्रिमियर भएको हो । पोखराका फिल्मकर्मी, रंगकर्मी र संचारकर्मीहरुको माझमा नयाँ वर्ष २०७० को शुभकामना आदानप्रदान सहित म्युजिक भिडियोको प्रिमियर भएको थियो ।

म्युजिक भिडियो ब्ल्याक स्याडो प्रोडक्सनले तयार पारेको हो । भिडियोलाई नेत्र गुरुङले निर्देशन गरेका हुन् । भिडियोमा अयुब केसी, मिलन शंकर, रेम बिक, सरिना भण्डारी, सुचन श्रेष्ठ, योगेश काजी, भिम आरडी लगाएतले अभिनय गरेका छन् । भिडियोलाई चलिरहेको ट्रेन्ड भन्दा केहि भिन्दै तरिकाले बनाउन खोजेको निर्देशक गुरुङले जानकारी दिएका छन् ।

म्युजिक भिडियो प्रिमियरमा बोल्दै गायक दिपेन्द्र गहतराजले नयाँ वर्षको अवसरमा आफ्नो गीत र म्युजिक भिडियो प्रिमियर गर्न पाउँदा आफु निकै खुशी भएको बताए । ‘यो मेरो पहिलो प्रयास हो ।’ गायक गहतराजले भने–‘राम्रो नराम्रो कस्तो छ खुलेर प्रतिक्रिया दिनुभयो भने आगामी दिनमा मलाई अझै राम्रो गर्ने हौसला मिल्ने छ ।’

प्रिमियरमा सहभागी फिल्मकर्मी, रंगकर्मी, संगीतकर्मी र संचारकर्मीहरु गीत निकै राम्रो बनेको प्रतिक्रिया दिएका थिए । त्यस्तै म्युजिक भिडियो पनि मेकिङको हिसाबले निकै उत्कृष्ट बनेको सहभागीहरुले बताए । म्युजिक भिडियोलाई सन्तोष कोन्मेले खिचेका हुन् ।

कमेन्टहरु
Loading...