नेवाः बाद्यवादन साँस्कृतिक प्रतिष्ठानमा प्राडा. विश्व श्रेष्ठ

हुम तमु, पोखरा, ३० चैत /नेवाः तजिलजि दवुले नेवारी मौलिक बाजागाजा, संगीत र सँस्कृति संरक्षण सम्बद्र्धनका लागि प्राध्यापक डाक्टर विश्व श्रेष्ठको अध्यक्षतामा ६ सदस्यीय नेवाःबाद्यवादन साँस्कृतिक प्रतिष्ठान गठन गरेको छ । विहिवार पोखरामा आयोजित नेवाः वाद्यवादन साँस्कृतिक प्रतिष्ठान घोषणा तथा सिक्किमबाट पोखरामा आउनु भएका नेवाःहरुलाई तजिलजि दवुले स्वागतका साथ सिक्किम नेवाः गुठीसँग भगिनी सम्वन्धका लागि प्रस्तावना कार्यक्रममा कार्यक्रम संयोजक सुनयना पालिखेले साँस्कृतिक प्रतिष्ठानको घोषणा गर्नुभएको हो ।

नवगठित प्रतिष्ठानको सचिवमा अष्टमान प्रधानाङ्ग, कोषाध्यक्षमा दिलिप श्रेष्ठ दोषी, सदस्यहरुमा सम्मरबहादुर श्रेष्ठ, श्यामलाल श्रेष्ठ र सानु जोजिजु रहनुभएको छ । यसैगरी सल्लाहकारहरुमा कृष्णबहादुर बैद्य र गणेशराम लाछी रहनुभएको छ भने संरक्षकमा नेवाः तजिलजि दवुका अध्यक्ष विष्णुशंकर ख्वाउजु हुनुहुन्छ । कार्यक्रममा प्रतिष्ठानको आवाश्यकता र महत्वका बारेमा कार्यक्रमका संयोजक सुनयना पालिखे र प्रतिष्ठानका अध्यक्ष प्राडा विश्व श्रेष्ठले चर्चा गर्नुभएको थियो ।

सिक्किमबाट पोखरा भ्रमणमा आउनुभएका २२ सदस्यीय सिक्किम नेवाः गुठीका टोलीलाई स्वागत गर्नुहुदै तजिलजि दवुका अध्यक्ष विष्णु शंकर ख्वाउजुले सिक्किम नेवा गुठीलाई भगिनी सम्बन्धका लागि प्रस्ताव गर्नुभयो भने गुठीका अध्यक्ष रोहित प्रधानले आफु सकरात्मक रहेको र कार्यसमिति बैठकमा प्रस्ताव स्विकृतिका लागि आग्रह गर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी प्राज्ञ सरुभक्त श्रेष्ठले नेवाः मौलिकता संरक्षण गर्नुपर्छ भन्ने चेतना भए पनि आवाश्यक वातावरणको अभावले नेवा पहिचान क्रमिक रुपले लोप हुदै गएको बताउनुभयो । उहाँले जाति, भाषा, कला, सँस्कृति एकता र सद्भावको माध्यम बन्नुपर्नेमा जोड दिनुभयो ।

सिक्किम नेवाः गुठीका अध्यक्ष रोहित प्रधानले सिक्किमका मुख्य मन्त्री पवन चाम्लिङले सिक्किमका १५ जातिहरुमा मध्ये नेवार सहित ११ जातिय भाषालाई मान्यता प्रदान गरेको बताउनुहुदै सबै नेवारले मेरो नेवारी मौलिकता भन्ने भावनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।  सिक्किम नेपाल समन्वयकर्ता गणेशराम लाछीले पोखरालाई पर्यटकीय मात्रै नभएर साँस्कृतिक शहरको रुपमा विकास गर्नुपर्ने बताउनुहुदै नेवाः बाद्यावादन साँस्कृतिक प्रतिष्ठान नामले मात्रै होइन कामले प्रतिष्ठान बन्नुपर्नेमा जोड दिनुहुदै लोप हुदै गएको ११७ बाजागाजा आफुसँग रहेको जानकारी दिनुभयो ।

सिक्किम सरकारका विशेष सचिव प्रताप प्रधानले नेपाली नेवारहरुको स्वागतले आफुहरु प्रोत्साहित भएको बताउनुहुदै नेवारी मौलिकता धेरै छ भनेको सुन्दा आफुहरुले भाषा, सँस्कृति, बाजागाजा, खानपिन कताबाट सिक्ने भन्ने अलमलमा परेको बताउनुभयो । नेवा देय दवुका अध्यक्ष नरेश ताम्राकारले प्रतिष्ठानको निरन्तरताको शुभकामना दिनुहुदै काठमाण्डौमा लोप भएको नेवारी सँस्कृति तायामचा पोखरेली नेवारहरुले संरक्षण गरेको बताउनुभयो ।

तमु धिं नेपालका महासचिव देवीराज तमुले पोखरा र सिक्किमका नेवारहरु विच सम्बन्ध विस्तार नेवारी पहिचान, अधिकार, साँस्कृतिक संरक्षणमा सघाउँ पुग्ने बताउनुहुदै सँस्कृति संरक्षणका लागि राज्यलाई झकझकाउने र नेवार एवं नेवारी संघसंस्थाहरुको पहल समेत हुनुपर्ने सुझाव दिनुभयो ।  कार्यक्रमको उद्घाटन प्रमुख अतिथी सरुभक्त, सिक्किम नेवा गुठीका अध्यक्ष रोहित प्रधान, विशेष सचिव प्रताप प्रधान, नेवा देय दवुका अध्यक्ष नरेश ताम्राकार, समन्वयकर्ता गणेशराम लाछीले दीप प्रज्जलन गरी उद्घाटन गर्नुभएको थियो भने सँस्कृतिकर्मी कृष्णबहादुर बैद्य र नरेश ताम्राकारले स्वागत संगीत बजाउनुभएको थियो । यसैगरी नेवा मिसा दवुका सदस्यहरुले राष्ट्रगान गाएका थिए ।

कमेन्टहरु
Loading...