कान्तिपुर संवाददाता काठमाडौं, चैत्र २८ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले तत्काल संविधानसभा चुनावको मिति घोषणा गर्न माग गरेका छन् ।नेपाल उद्योग वाणिज्य महासंघको ४७ औं साधारणसभालाई बुधबार राजधानीमा सम्बोधन गर्दै दाहालले सवै मिलेर चुनावको वातावरण बनाउन केन्दि्रत हुनुपर्नेमा जोड दिए । ‘यहिँ मन्त्रिपरिषद्का सम्माननीय अध्यक्षज्यू हुनुहुन्छ,’ मञ्चमा रहेका अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीतिर फर्कंदै दाहालले भने, ‘छिटोभन्दा छिटो घोषणा होस् ।’

असारमा चुनाव नभए मंसिरमा पनि नहुने दाहालको घोषणालगत्तै रेग्मीको ‘हतारमा चुनाव हुन नसक्ने’ जवाफी प्रतिक्रियापछि दुवै जना पहिलोपटक एउटै कार्यक्रममा भेट भएका हुन् । यद्यपी दाहालले रेग्मी चुनावका लागि लागिरहेको भन्दै हौस्याए ।
दाहालले दलहरुबीच सहमति गरेर मुलुकलाई नयाँ गतिमा हिँडाउन नसके भावी पिढिंले सराप्ने बताए । उनले एमाओवादीले महाधिवेशनबाट नै आर्थिक मुद्दामा पनि महत्त्वपूर्ण निर्णयहरु गरेको स्मरण गराए ।