चुनाव घोषणा भए कांग्रेसको विवाद सकिन्छ : केसी

२० चैत, काठमाडौ । नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसीले तत्काल निर्वाचनको मिति घोषणा भए सरकार गठनको विषयलाई आफूहरुले पार्टीमा राखिरहेको फरक मत समाप्त हुने बताउनुभएको छ ।
पार्टीमै फरक मत राखिसकेका २२ जनाको समूहमध्येका केसीले पार्टीको बुधबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा यस्तो धारणा राख्नुभएको हो । रिपोर्टर्स क्लब नेपालले मंगलबार गरेको साक्षात्कारमा केसीले भन्नुभयो- ‘निर्वाचनको मिति घोषणा हुने हो भने हामी मतभेद छाडेर एकताका साथ निर्वाचनमा जान्छौं ।’
कार्यक्रममा केसीले बुधवार बस्ने केन्द्रीय समितिको बैठकबाटै आफूहरु मतभेद समाप्त गर्ने पक्षमा रहेको बताउनुभयो । निर्वाचनको मिति तत्काल घोषणा नभए या केन्द्रीय समितिको बैठकले मतभेद नटुङग्याए आफूहरु महासमितिको बैठकसम्म बहसलाई लिएर जाने उहाँले स्पष्ट पार्नुभयो । आफूहरुले चार दलको सहमति उल्टाउनु पर्छ नभनेको स्पष्ट पार्दै प्रधानमन्त्री भएपछि  रेग्मीले प्रधानन्यायाधीश पद छाड्नु पर्छ भन्ने मात्रै चाहेको बताउनुभयो ।
‘वैद्य र यादवलाई उच्चस्तरीय संयन्त्रमा ल्याउनुपर्छ’
निर्वाचनको सुनिश्चितताका लागि नेकपा माओवादी र मधेसी जनअधिकार फोरमसँग पनि बार्ता गरेर उच्चस्तरीय राजनीतिक संयन्त्रमा ल्याउनु पर्ने धारणा राख्दै केसीले त्यो विनाको संविधानसभाले निकास दिनै नसक्ने ठोकुवा गर्नुभयो । एमाओवादीले निर्वाचन नचाहेको आरोप लगाउँदै ऊ हिजैको अवस्थामा रहे फेरि पनि संविधानसभाबाट संविधान बन्न नसक्ने दाबी गर्दै केसीले काग्रेसको पक्षमा जनमत आए मात्रै लोकतान्त्रिक संविधान बन्ने बताउनुभयो । cp. onlinekhabar

 

कमेन्टहरु
Loading...