माउण्टेन बाईक क्रसकन्ट्रीको उपाधि पण्डितलाई

पोखरा, १० चैत/नेपाली माउण्टेन बाईक च्याम्पियन अजय पण्डित क्षत्रीले पोखरामा शनिबार आयोजित १२ औं खुल्ला माउण्टेन बाईक क्रसकन्ट्री प्रतियोगिताको उपाधि जितेका छन् । पर्वतीय खेलकुद महासंघद्वारा आयोजित ३७ किलोमिटर दुरीको क्रसकन्ट्रीलाई पण्डितले दुई घण्टा नौ मिनेटमा पुरा गरेर उपाधि जितेका हुन् । पोखराको लभ्ली डाडाँ वरिपरीको छ किलोमिटरको दुरीलाई छ पटक फन्को मारिएको थियो । उनले नगद १८ हजार रुपैयाँसहित सगरमाथा ट्रफी पुरस्कार स्वरुप पाए । प्रतियोगितामा नारायणगोपाल महर्जनले दुई घण्टा १८ मिनेटमा पुरा गर्दै दोस्रो बने । महर्जनले नगद १२ हजार सहित लुम्बिनी ट्रफी हात पारे ।

दुई घण्टा २० मिनेटमा पुरा गर्दै बुद्धिबहादुर तामाङले तेस्रो स्थानमा आउन सफल भए । उनले नगद पाँचहजारसहित अन्नपुर्ण ट्रफीको हकदार बने । महिला तर्फ एकमात्र सहभागि लक्ष्मी रानामगरले २४ दशमलव ८ किलोमिटरलाई दुई घण्टा ९ मिनेटमा पुरा गरिन् । उनलाई प्रोत्साहन स्वरुप नगद दशहजार रुपैंया प्रदान गरिएको थियो । विजेता साइक्लिङ प्रतिस्पर्धीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव यवुराज लामा तथा साईक्लिङ संघ कास्कीका अध्यक्ष दिलिपराज श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रकाश बरालका अनुसार प्रतियोगितामा स्वदेशी र विदेशी गरी ३६ जनको सहभागिता रहेको थियो । उनले तीन विदेशीले पनि प्रतिस्पर्धा गरेको समेत जानकारी दिए । पोखरालाई पर्वतीय खेलुदको गन्व्यस्थल बनाउन समेत प्रतियोगिताले सघाउ पु¥याउने विश्वास गरिएको छ । साहसिक पर्यटकीय गन्तव्य बन्दै आएको पोखरालाई पर्वतीय खेलकुदको पनि गन्तव्य बनाउने अभियानलाई राखेपले पनि साकार बनाउँदै लगेको छ ।

कमेन्टहरु
Loading...