राष्ट्रिय बुद्धिचाल आयोजनार्थ सर्वेश्वरद्वारा स्थानीयसंग अन्तरक्रिया

सर्वेश्वर युवा क्लब गैह्रापाटनले २५ फागुनको २५ देखि २९ गतेसम्म आयोजन ागर्न लागेको प्रथम पोखरा राष्ट्रिय फिडे बुद्धिचाल प्रतियोगिता – २०६९ लाई भव्यरुपमा सम्पन्न गर्न शनिबार स्थानीयवासीसंग अन्तरक्रिया गरेको छ । क्लबका अध्यक्ष कविन्द्र कोइरालाले प्रतियोगिता सम्पन्न गर्न स्थानीयवासीको सहयोग आवश्यक रहेको भन्दै सहयोगको अपेक्षा गरे ।

प्रतियोगितामा देशभरका ६० सहित करिब १ सय २० जनाको सहभागिता रहने उनले बताएका छन् । प्रतियोगितामा झापा, बुटवल, पाल्पा, काठमाडौंलगायतका जिल्लाबाट सहभागी आउने निश्चित भएको कोइरालाले बताए । प्रतियोगितामा नेपालका दुईमात्र फिडेमास्टर मनिष हमाल र सुजेन्द्र श्रेष्ठको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताका मूल संयोजक रामबहादुर क्षेत्रीले खेल फिडेको ‘स्विज्ड लीग’ नियमअनुसार खेलाइने बताए । प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ९० हजार रुपैयाँ लाग्ने बताउँदै क्षेत्रीले सहयोग जुटाउने काम तीब्र पारिएको बताए । त्यस्तै, कास्की बुद्धिचाल संघका अध्यक्ष बाबुराम पन्तले पोखरामा फिडे बुद्धिचाल प्रतियोगिता हालसम्म नभएको बताउँदै क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको प्रशंसा गर्दै कार्यक्रम सफलताको शुभकामना दिए । प्रतियोगिताको लागि आवश्यक सहयोगका लागि संघ तयार रहेकोसमेत उनले प्रतिबद्धता जनाए ।
छलफलमा कास्की बुद्धिचाल संघका सल्लाहकार रघुनाथ अधिकारी, सदस्यद्वय अनिल कोइराला र पुष्प बाटाजुले प्रतियोगिता सम्पन्न गर्न व्यक्तिगत र संस्थागत सहयोग गर्ने बताएका छन् । सर्वेश्वर महादेव मन्दिर संरक्षण समितिका संरक्षक रामजी कोइरालाले स्थानीय क्लबले राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेकोमा वडावासीलाई सहयोगका लागि आव्हान गरे । त्यस्तै, स्थानीयवासी कुशुमकेशव पराजुलीले स्थानीयस्तरबाटै सहयोगको थालनी गरिएको बताउँदै शनिबारसम्म २८ हजार रुपैयाँ संकलन गरेका बताए । उनले भने, ‘यो हाम्रो गौरवको विषय हो, सबैले सकेको सहयोग गरेर युवालाई हौसला दिनुपर्छ ।’

प्रतियोगितामा रेटेडतर्फ प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ७ हजार रुपैयाँ नगद पुरस्कार राखिएको छ । त्यस्तै, चौथो पुरस्कार ५ हजार, पाँचौलाई ३ हजार रुपैयाँका साथै मेडल तथा प्रमाणपत्र प्रदान गरेको छ । यसैगरी आठौंदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीलाई २ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरी, अनरेटेडतर्फ प्रथम हुनेलाई ३ हजार र दोस्रो हुनेलाई २ हजार रुपैयाँ प्रदान गरिनेछ । आयोजकले उत्कृष्ट १८ सय रेटिङ् भन्दा कम खेलाडी, उत्कृष्ट १३ वर्ष भन्दा कम उमेरका खेलाडी र उत्कृष्ट १५ वर्षभन्दा कम उमेरका खेलाडीलाईसमेत जनही १ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरेको छ । यसैगरी, ५० वर्षभन्दा माथि उमेरका उत्कृष्ट खेलाडीलाईसमेत १ हजार ५ सय रुपैयाँ पुरस्कार दिनेछ । आयोजकले स्थानीय खेलाडीको लागि समेत छुट्टै प्रतियोगिताको आयोजना गरी पहिलो, दोस्रो, तेस्रो हुनेलाई क्रमशः ५, ३ र २ हजार पुरस्कारको व्यवस्था गरेको छ । त्यस्तै, चौथो र पाँचौ स्थान प्राप्त गर्ने खेलाडीलाई जनही १ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गर्ने बताएको छ ।

प्रतियोगितामा सहभागी हुन रेटेड खेलाडीका लागि १ हजार, अनरेटेड खेलाडीलाई १ हजार ५ सय र स्थानीय खेलाडीलाई ५ सय रुपैयाँ प्रवेश शूल्क निर्धारण गरिएको छ । प्रवेश फाराम हाल गैह्रापाटनस्थित लवकुश स्टेशनरी र क्लबको कार्यालयमा उपलब्ध रहेको आयोजकले जनाएको छ । पोखरा बाहिरका खेलाडीलाई आवासको व्यवस्था गरिएको प्रतियोगिताको कूल खर्च २ लाख ९० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सहयोगीमा नेपाल बुद्धिचाल संघ तथा कास्की बुद्धिचाल संघ रहेको छ ।

कमेन्टहरु
Loading...