एचआईभि एड्स सम्बन्धि एक दिने गोष्ठी सम्पन्न

पोखरा, १६ फागुन/स्वतन्त्र पत्रकार संघ कास्की र हेल्दी स्माईल ईन्टरनेश्नलको संयुक्त आयोजना मंगलवार पोखरामा एचआईभि एड्स सम्बन्धि एक दिने गोष्ठी सम्पन्न भएको छ । मित्र समाज नेपालको सहयोगमा सम्पन्न भएको कार्यक्रममा बिभिन्न संघ संस्थाका २० जना अगुवाहरुको सहभागिता रहेको हेल्दी स्माईल ईन्टरनेश्नलका धुर्व बरालले बताए ।कार्यक्रममा आकुरा नेपालका अध्यक्ष एवम संक्रमित लक्ष्मी अधिकारीले आफ्नो अनुभव बताउदै एचआईभिएड्सको सचेतना जगाउन गाँउ गाँउसम्म यस्ता कार्यक्रमहरु पुराउनु पर्नेमा जोड दिए । आकुरा नेपालमा हाल ५ जना टुहुरा वालवालीकाहरु रहेको बताउदै उनीहरुको पालनपोषण गर्न आफुलाई निकै कठिन भएको बताईन ।

जिल्ला एड्स समन्वय समिति कास्कीका संयोजक पुर्णप्रसाद पौडेलले सहजीकरण गर्दै अझै पनि एचआईभि एड्स सम्बन्धि सचेतनाको कमिले संक्रमितहरु खुलेर आउन नसकेको कारण यो संक्रमण फैलिदै गएको बताए । उनले कास्कीमा १ हजार २ सय १४ जना एचआईभिएड्स संक्रमितहरु भएको बताए ।

कार्यक्रममा मित्र समाज नेपालका अनुसन्धान संयोजक संजय ढकालले सामाजिक कार्यक्रममा संक्रमितहरुलाई समेत समावेस गर्नू पर्ने बताए । सशस्त्र प्रहरी वल कालिका गण मालेपाटन पोखराका गणपति शम्भु उप्रेतीले एचआईभिएड्सका कार्यक्रम गाँउ टोलमा निरन्तर रुपमा आयोजना हुनु पर्ने बताए । स्वतन्त्र पत्रकार संघ कास्की शाखाका अध्यक्ष दिपक के. श्रेष्ठले कार्यक्रम माथि प्रकाश पारेका थिए भने संघका केन्द्रीय कोषाध्यक्ष दिननाथ बरालले समेत वोलेका थिए ।

कमेन्टहरु
Loading...