घरपक्षका आफ्नी छोरीको हत्या गरेको भन्दै माईतीपक्षले दिए किटानी जाहेरी

रेम बिक
पोखरा, १५ फागुन/घरपक्षकाको चरम यातना दिएकै कारण आफ्नी छोरीको मृत्यु भएको भन्दै मृत्यु भएकी हेमजाकी जानकी श्रेष्ठको माईतीपक्षले चारजनाको नाममा प्रहरीसमक्ष किटानी जाहेरी दिएका छन् । शनिबार राती झुण्डिएको अवस्थामा भेटिएका श्रेष्ठलाई मणिपाल अस्पताल पु¥याएसंगै मृत्यु भएको भनेर उनको घर पक्षले भन्दै आएपनि माईती पक्षले आत्महत्या नभै हत्या भएको आरोप लगाएर घरपक्षका नाममा किटानी जाहेरी दिएका हुन् । मृतकका माईती पक्षले आफ्नी छोरीको हत्यामा संलग्न भएको आरोपमा मृतक श्रेष्ठका आफ्नै श्रीमान् कृष्णबहादुर श्रेष्ठ, नन्दा भगवती श्रेष्ठ, देवर र श्रीमान् र बहिनी ज्वाँईको नाममा किटानी जाहेरी दिएका छन् । यद्यपी मृतकको शव पोस्टमार्टमका लागी अस्पतालमा राखिएको कारणले प्रहरीले भने किटानी जाहेरी परेका व्यक्तिहरुलाई नियन्त्रणमा लिईसकेको छैन । ‘पोस्टमार्टम रिपोर्टमा जे देखिन्छ हामीले त्यसैअनुरुप घटनालाई अनुसन्धान गर्ने हो ।’ घटनाको विषयमा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले भने–‘अहिल्यै हामीले केहि भन्न सक्ने अवस्था छैन ।’

मृतकका माईती पक्षकाले भने आफ्नी छोरीको हत्या नै भएको भनेर आशंका गर्न सकिने धेरै आधारहरु समेत पेश गरेका छन् । ‘हामीलाई बहिनीले पटक पटक नै घरका सदस्यहरुले यातना दिने गरेको बताउँदै आएकी थिईन्, र बिचमा केहि समय त उनी माईतमै आएर पनि बसेकी हुन् ।’ घटनाको बारेमा बताउँदै मृतककी दिदि सरिता श्रेष्ठले भनिन्–‘तर जे जस्तो भए नी आफ्नै घर गरेर खान्छु भनेर बहिनी फर्केकी थिईन् ।’ त्यसपछि पनि जानकीले परिवारका सदस्यहरु सबै मिलेर आफुलाई यातना दिने गरेको बताउँदै आएको दिदि सरिताले बताईन् । मृतक जानकीको माईती चितवन जिल्लामा रहेको खुल्न आएको छ ।

त्यसैमाथि मृतकको कोठामा झुण्डिएर मरिने खालको उचाँई नभएको र लाशमा निल डामसहित चोट पनि देखिएका कारण हत्या भएको प्रशस्त आधारहरु रहेको माईतीपक्षले बताउँदै आएको छ । चरम यातना पछि हत्या गरिएको र हत्या पछि आफैले डोरीमा झुण्डाएको हुन सक्न माईतीपक्षले अनुमान लगाएका छन् । मृत्युको खबर आएकै दिन पनि जानकीले आफुलाई घरका सदस्यहरु मिलेर यातना दिएको भन्दै विलौना गरेर आफ्नी आमालाई फोन गरेको उनको माईतीपक्षले जनाएको छ ।

यसै विषयमा विवाद हुँदा आईतबार प्रहरी कार्यालयकै अगाडी मृतकका घर पक्ष र माईती पक्षका मानिसहरुबिच हात हालाहाल नै भएको थियो । समुहमा रहेका दुवै तर्फका मानिसहरु भिडन्तमा उत्रिएपछि केहि मानिसहरु घाईते समेत भएका थिए । माईती पक्षले हत्याको आरोप लगाईरहेपनि मृतक जानकीको घरपक्षले भने जानकीको मृत्यु आत्महत्याकै कारणले भएको बताउँदै आएको छ ।

कमेन्टहरु
Loading...