बारले नै सरकार चलाओस् : गौतम

१३ फागुन, बागलुङ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बारलाई प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार मान्य नहुने भए चुनावी सरकारको नेतृत्व आफैँ लिन चेतावनी दिनुभएको छ । देशको वर्तमान राजनीतिक जटिलताका कारण प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न दलहरु सहमत भएको उल्लेख गर्दै त्यसको विरोध गर्ने भए बार एसोसिएसनलाई नयाँ प्रधानमन्त्रीको विकल्प दिन आग्रह गर्नुभयो । ‘बारलाई दलहरुको प्रस्ताव मान्य नहुने हो भने उसैले सरकार बनाओस्,चुनाव गराओस् र संविधान लेखोस्’ गौतमले भन्नुभयो ।

 

  प्रेस चौतारी बागलुङ शाखाले आइतवार विहान बागलुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष गौतमले सरकार बनाउने कुरासँग बारको कुनै सम्बन्ध नभएको टिप्पणी गर्नुभयो । ‘देशमा अहिले न संविधानवाद नै छ न कुनै शक्ति पृथ्थकीकरणको सिद्धान्तअनुसारको शासन नै छ’ गौतमले भन्नुभयो ‘मलुकलाई लोकतन्त्र र संवैधानिक व्यवस्थामा फर्काउन जसरी भएपनि नयाँ चुनावमा जानुपर्ने छ ।’

 गौतमले वर्तमान सरकारको बहिर्गमन प्रमुख आवश्यकता रहेकाले प्रधानन्यायाधीशकै नेतृत्वमा चुनावी सरकार बनाउन अधिकतम पहल गरिने बताउनुभयो । प्रधानन्यायाधीश नेतृत्वमा सरकार नबन्ने अवस्था आएमा अन्य विकल्पमा जान पनि दलहरु तयार रहेको उहाँको भनाइ छ । ‘दलकै नेताको नेतृत्वमा सरकार निर्माण हाम्रो पहिलो प्राथमिकता हो’ गौतमको भन्नुभयो ‘तर त्यो सम्भव हुन नसकेपछि गैरदलीय व्यक्तिको विकल्पमा जानुपर्ने बाध्यता आएको हो । cp. onlinekhabar

कमेन्टहरु
Loading...