‘लाहाछाप’ र ‘प्रभावशाली’ को-को हुन्ः गगन थापा

२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफ्नो पार्टीको शीर्ष नेतृत्वलाई ‘प्रभावशाली’ र ‘लाहाछाप’ गरी दुई किसिमका केन्द्रीय सदस्यहरुको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।

पदाधिकारी एवं प्रभावशाली नेताहरुको बैठक’ भन्दै केन्द्रीय सदस्यलाई बाइपास गरेर पार्टीले खुरुखुरु निर्णय गर्ने गरेको भन्दै थापाले सानेपामा आयोजित बैठकमा प्रश्न गर्नुभयो- ‘प्रभावशाली केन्द्रीय सदस्य भनेको को-को हो ? हामी चाहिँ के हौं ? के आधारमा त्यस्तो बैठकबाट धमाधम निर्णय गरिँदैछ ?
‘यसरी केन्द्रीय सदस्यहरुलाई प्रभावशाली र अप्रभावशालीमा विभाजन गरिन्छ भने केन्द्रीय कार्यालयमा दुईवटा कुर्सीको व्यवस्था गरियोस्, जहाँ प्रभावशाली र लाहाछाप दुईखाले केन्द्रीय सदस्यहरु छुट्टाछुट्टै बसुन्’- थापाले बैठकमा भन्नुभयो । पार्टीको विधानले तोकेको कार्यसम्पादन समिति वा केन्द्रीय कार्यसमितिबाहेक अवैधानिक तरिकाले स्वविवेकी निर्णय गर्न नपाइने भन्दै थापाले पार्टीको शीर्ष नेतृत्वलाई चेतावनी दिनुभएको स्रोतले अनलाइनखबरलाई बतायो ।

सुशीललाई कसले ‘प्रधानमन्त्री’ बनायो ?

त्यसैगरी बैठकमा कांग्रेस नेतृ सुजाता कोइरालाले सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उमेद्वार तोकेर बद्नाम गर्नेहरुले स्पष्टीकरण दिनुपर्ने बताउनुभयो । ‘सभापतिलाई कसले निर्णय गरेर प्रधानमन्त्रीको उमेद्वार बनाइयो र यो अवस्थामा बद्नाम गरियो, यसको जवाफ चाहियो ।’- बैठकमा सुजाताले महामन्त्री कृष्ण सिटौलातर्फ संकेत गर्दै आपत्ति जनाउनुभयो । उहाँले सुशील कोइरालाई सल्लाह दिनेहरुले पार्टीलाई भड्खालोमा हाल्ने बाहेक अर्थोक केही गर्न नसकेको दाबी गर्नुभयो ।

प्रधानन्यायधीशको नेतृत्वमा चुनावमा जाने कि नजाने भन्नेबारे छलफल गर्न मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कार्यसमितिको बैठक बसेको थियो । बैठकमा नेताहरुले बोल्ने क्रम नसकिएपछि आज बुधबार पनि बैठक डाकिएको छ । बैठकमा शीर्ष नेताहरु प्रधानन्यायाधीशको प्रस्तावमा नरम देखिए पनि अधिकांश केन्द्रीय सदस्यहरु माओवादीको प्रस्ताव स्वीकार्न नहुने र आन्दोलनमा जानुपर्ने पक्षमा रहेको स्रोत बताउँछ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...