‘त्यो असफलताको अगाडि झुन्डाइएको एउटा ‘अ’ फेरि पनि हटेर जान्छ’

पोखरा । नेपाली सेनाको जागिरले जिन्दगी ठिकठाक चल्दैथ्यो । देश १० वर्षे सशस्त्र द्वन्द्वको भूमरीमा फस्यो ।

हुँदाखादाको जागिर छाडेर स्याङजा वालिङका भीम लुंइँटेले जहाज चढेर दुवई ओर्ले । एकातिर कमाइ कम अर्कोतिर युद्वको रापतापमा जेलिएको देशमा ज्यान जोगाउन मुस्किल ठानेर भीमले वैदेशिक रोजगारको बाटो रोजेका थिए ।

उनले दुवईमा काम गर्ने कम्पनी भर्खर खुलेको थियो । टिनको टहरा बनाएर सुरु भएको कम्पनिको भित्तामा तस्बिर थियो, ‘टहरको माथिबाट कम्पनीको नामको जहाज उडेको ।’ तस्बिरले बोकेको लक्ष्य थियो, ‘भविष्यमा कम्प्नीको आफ्नै जहाज उडाउने छ ।’

भीमको दिमागलाई त्यही एटा तस्बिरले हान्यो । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटले उनलाई घच्घचाइरह्यो ।
भीमलाई वदेश धेरै वर्ष मन लागेन । विदेश छँदा गाउँघरमा देखेका सम्भावनाहरु उनका आँखा वरिपरी घुमिरहन्थे ।

देशमा सशस्त्र जनयुद्धमा पूर्णविराम लागेर विस्तृत शान्ति सम्झौता भइसकेको थियो । केही लाख रुपैयाँ कमाएर लुइँटेल स्वदेश फर्किए ।
सम्भावना देखेर उनले रोजे बंगुुरपालनलाई । २०७१ सालमा भीमले २७ लाख रुपैयाँ लगानी गरेर बंगुरपालन सुरुवात गरे ।

देशमा जनयुद्ध त रोकिएको थियो भीमले रोजेको पेशाले भने समाजसँग युद्ध सुरु भयो । त्यतिबेलाको समाज भन्थ्यो, ‘बाहुनले बंगुर पाल्न त के छुन समेत हुदैन ।’ परिवार, समाजसँग विद्रोह गर्दै उनले साथीभाइसँग मिलेर आँधीखोलाको किनारमा बनाएको खोरमा २७ वटा बंगुर हुलेर हजार माइल पर सफलताको यात्रामा एक पाइला चाले ।

साथीसँग मिलेर सुरुवात गरेर व्यवसायमा दरार आउन सक्ने देखेर छोटो समयमै भीम एक्लैले व्यवसाय सम्हाले । उनी सफल हुँदै गर्दा उदेश्य राखेका थिए, ‘देशमा रोजागरी सिर्जना गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नेछु ।’ विश्वबजारमा बंगुरको मासु निकै माग भएको उनको भनाइ छ ।
बंगुर पालनमा उनले विस्तारै सफलता हासिल गर्दै गए । बाहुनका छोराले बंगुर पाल्नै नहुने भाष्य समाजबाट हट्दै गयो । रोजगारीका लागि संख्या बढाउदै थिए । भीमको लगावबाट प्रेरित भएर बंगुर पाल्ने युवाहरुको संख्या दिनानुदिन बढ्दै गए ।

विद्रोह गरेर थालेको पेशाबाट सफलताको सिंढी चढ्दै गर्दा एक्कासी उनी शुन्यमा झनुपरेको छ । ९ महिना अगाडि उनको फर्मबाट १४ सय बंगुर मर्दा ठूलो क्षति व्यहोर्नुप¥यो ।
अफ्रिन स्वायन फिबरका कारण उनले ३ करोड रुपैयाँ बराबर नोक्सानी व्यहोर्नुपरेको बताए । उनको सफलताको यात्रामा अफ्रिकन स्वायन फिभरले असफलताको ट्याग झुन्डाइदिएको छ ।

भीमले त्यसपछि यतिसम्म आर्थिक अभाव भोगे कि बंगुरलाई खुवाउने दाना नहुदाँ भकारीको धान झिकेर खुवाए । त्यो आधा पेट । पहिला ऋण लिन उनका फर्ममा आउने बैंकले ऋण पत्याएन । राज्यले पनि दुखमा मलम लगाउने कोशिष गरेन ।

राज्यका निकाय र बैंक तथा वित्तिय संस्थाको सहयोग नपाएकोमा उनको गुनासो छ । ‘समस्याको पाटो त आर्थिककै थियो । अहिलेसम्म न बैंकिङ क्षेत्र न राज्यका निकाय कुनै पनि क्षेत्रबाट सहयोग भएन । बरु भिडियो हेरेर नेपाल भन्दा बाहिर रहनुभएका अथवा नेपालमै भएका केही साथीहरुले तपाईले गरेको कामप्रतिको प्रसाद हो है भनेर रकम सहयोग गर्नुभयो’, उनले भने ।
अहिले उनी सुरुवाती संघर्षको दिनमा पुगेको बताउँछन् । भीमले न हरेश खाएका छन न बाटो फेरेका छन् ।

बंगुरको बजार पूरानै अवस्थामा फिर्ता पाएकोमा खुशी देखिए । ‘मसंग उत्पादन हुुने हो भने त्यो क्षतिलाई कभर गर्न सक्ने गरी वातावरण तयार भएको छ’, भीमले भने, ‘र त्यो अवस्थामा आफुलाई पु¥याउनका लागि लडिरहेको छु ।’

एक्कासी सफलता गुमाएका भीमले विश्वस्त हुँदै भने, ‘त्यो असफलताको अगाडि झुन्डाइएको एउटा ‘अ’ फेरि पनि हटेर जान्छ ।’
पोखराको फेवाताल किनारमा ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबलको अन्तिम दिन सोमबार ‘असफलताको पाठ’ सेसनमा भीम लुइँटेल, चन्द्रकान्त बराल र नवराज देवकोटासँग पत्रकार जमुना वर्षा शर्माले अन्तरक्रिया गरिन् ।
पुम्दीकोटमा विशाल महादेवको मूर्तीको परिकल्पनाकारसमेत रहेका चन्द्रकान्तले २०३६ सालमा बंगुर पाल्ने सहास गरेर समाजसँग पैठेंजोरी खेलेका थिए । २४ वर्षका चन्द्रकान्तलाई केही गरौं भन्ने हुटहुटी थियो ।

उनले सुरुमा ३ महिने तालिम लिएर पशु सहायकको जागिर खाए । तालिमले बंगुर पाल्दा मनग्य आम्दानी देखाएपछि उनले बंगुर पाल्न सुरु गरेका थिए ।
घरमा उनले जिद्धी कसे, ‘जसै बंगुर पाल्छु ।’ जायजेथा पूरै १५० रोपनी जग्गा धितो राखेर १ लाख ५० हजार रुपैयाँ ऋण काढेर उनले बंगुर पाल्न सुरु गरे । ‘अफ्रिकन स्वायन फिभर रोग लागेर बंगुरहरु बच्चा उत्पादन गर्दै मर्ने हुन थाल्यो र म असफलताको बाटोमा गएं’, उनले सम्झिए ।

बंगुर पाल्दा धन र धर्म दुवै गुमाएको उनले सुनाए । ‘त्यतिबेला बाहुनका छोराले बंगुर पाल्ने भनेको सामान्य कुरा थिएन । भित्रभित्र छोएको पानी खान हुन्न भन्ने मान्छेहरु पनि प्रशस्त हुन्थे’, उनले भने ।

 

कमेन्टहरु
Loading...