दशनामी युवा गण्डकीद्वारा साइबर अपराध सम्वन्धि सचेतना

पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ । शुक्रबार समितिले पोखरा २१ निर्मलपोखरीमा अवस्थित जनचेतन माविका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई हिंसा, जातिय विभेद तथा साइबर अपराध सम्वन्धि सचेतना गराएको हो ।

कार्यक्रममा समाजमा बढिरहेको हिंसाका घटना, जातिय विभेदका घटना तथा साइबर अवराधका विषयमा प्रशिक्षण गराइएको थियो । उक्त घटना तथा अपराधबाट मानिसहरु कसरी फस्न सक्छन् र यस्ता अपराधबाट बच्न के गर्नुपर्छ भन्नेबारे विद्यार्थीलाई सचेत गराइएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरिक्षक होत बहादुर रोकाले प्रशिक्षण दिएका थिए । प्रशिक्षक रोकाले पछिल्लो समय प्राय सबैको हात हातमा मोबाइल र सामाजिक सञ्जाल प्रयोगकर्ता अध्याधिक भएकाले साइबर सम्वन्धि अपराध दिनानुदिन बढ्दै गएको बताए । उनले यस्ता अपराधबाट सतर्क रहने उपाय र कानूनी उपचारका विषयमा प्रशिक्षण गराएका थिए ।

प्रशिक्षण अगाडी भएको औपचारिक कार्यक्रममा बोल्दै नेपाल दशनामी समाजका केन्द्रीय सचिव जगतमोहन गिरीेले सामाजिक सञ्जालको प्रयोग बढेपनि यसबाट हुने दुर्घटनाबाट बच्न सबै सचेत हुन आवश्यक रहेको बताए । उनले हिंसा, जातिय विभेद तथा साइबर अपराधका विषयमा आफु पनि सचेत हुन र अरुलाई पनि सचेत गराउन आग्रह गरे ।

कार्यक्रममा नेपाल दशनामी समाज गण्डकीका सचिव बेबराज गिरी, जनचेतन माविका प्रधानाध्यापक अर्जुन पौडेल, नेपाल दशनामी महिला समिति कास्कीका अध्यक्ष सपना गिरीलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल दशनामी युवा समिति गण्डकीका अध्यक्ष सुर्य गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका सचिव राजु गिरीले गरेका थिए ।

 

 

कमेन्टहरु
Loading...