चौथो संस्करणको पहिलो प्रतिस्पर्धात्मक खेलमा पुलिस विरुद्ध एपिएफ क्लबले जित निकाल्दै २ अंक हासिल गरेको छ भने नेपाल पुलिसले १ अंक प्राप्त गरेको छ ।
पहिलो सेट २५–१८ र दोश्रो सेट २५–१८ ले जितेको एपिएफले भने तेश्रो र चौथो सेट भने गुमाउन पुग्यो । तेश्रो र चौथो सेटमा टिम कम्विनेसनको अभाव देखिएको एपिएफलाई २५–१९ र २५–१८ ले जितेर खेलमा फर्किएको नेपाल पुलिस अन्तिम तथा पाँचौ सेटमा १५–१३ ले एपिएफलाई सुम्पिन पुग्यो ।
सम्पन्न पहिलो खेलमा एपिएफ क्लबकी सरस्वती चौधरी टाइगर अफ दि म्याच घोषित भइन् ।
नेपाल भलिबल संघको स्विकृतीमा सुरु भएको चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आइपुगेको छ । महिलातर्फ नै चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लव, गण्डकी प्रदेश संगै तिन बिभागिय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मीको त्रिभुबन क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबको सहभागिता छ ।
त्यसै गरी पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाएको छ । प्रतियोगितामा हेल्प नेपाल स्पोर्टस क्लब तीन जना पाकिस्तानी खेलाडी सहित मैदानमा उत्रिने छ । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ समेत तीन भारतीय खेलाडी सहित मैदानमा छ । तीन बिभागिय टोली नेपाली सेनाको त्रिभुबन क्लब, नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज सोमबार दिउसो २ बजे गर्नेछन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिव १५ हजार बराबरको एक्सटेप कम्पनीको जुत्ता प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सोमबार महिलातर्फको दोश्रो खेल त्रिभुवन आर्मी क्लव र चन्द्रागिरी नगरपालिका न्यू डायमण्डका बिच हुनेछ । पुरुषतर्फको पहिलो खेल मध्यान्ह साढे १२ बजे दुई विभागिय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबका वबच हुनेछ भने सो खेल लगतै उद्घाटन खेल सुरु हुनेछ ।