राजनीतिक दललाई प्रश्नः अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सहभागिता खै ?

पोखरा । अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सहभागिता सम्वन्धि नीति संवाद तथा अन्तरक्रिया भएको छ । नेत्रहिन युवा संघ नेपालको आयोजनामा विभिन्न गण्डकी प्रदेशका मन्त्री, सांसद, राजनैतिक दलका प्रमुख सचेतक, गैह्र सरकारी संघ संस्था तथा सरोकारवाला नीकायबीच पोखरामा अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सहभागिता बारे संवाद तथा अन्तरक्रिया भएको हो ।

कार्यक्रममा दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । नेत्रहिन युवा संघ नेपालका कार्यक्रम अधिकृत निर श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सहभागिता र पहुचका विषयमा आफ्नो प्रस्तुती राखेका थिए भने नेत्रहिन युवा संघकै निवर्तमान अध्यक्ष कलाधर भण्डारीले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सहभागिताको कानूनी व्यवस्था र अहिलेको यथार्थ अवस्थाका विषयमा प्रस्तुती राखेका थिए ।

अपाङ्गता भएका व्यक्ति भन्दैमा असक्षमता बुझ्नु नै ठुलो समस्या रहेको निर श्रेष्ठले बताए । राजनीतिक दल, संघ संस्थाले अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा गर्ने कार्यमा प्रभावकारिता ल्याउनु पर्ने र दिगो प्रवद्र्धन आवश्यक रहेको उनले औल्याए । अपाङ्गता भएका व्यक्तिहरुलाई सबै क्षेत्रमा समावेशीकरण आवश्यक रहेको श्रेष्ठको भनाई थियो ।

त्यस्तै अपाङ्गता भएका व्यक्तिहरुलाई कानूनी रुपमा भएको प्रावधानलाई पनि कार्यान्वयनको पक्षमा फितलो देखिएको कलाधर भण्डारीले प्रस्तुती मार्फत राखे । राजनीतिक दलले पनि अपाङ्गता भएका व्यक्तिहरुको हक, अधिकार तथा सहभागिताको कुरा कागजमा मात्र राख्ने तर व्यवहार र कार्यान्वयन गर्ने पक्षमा सुन्य रहेको उनले बताए ।

राजनीतिक दलले अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टीकोणमा सकारात्मक परिवर्तन आउन आवश्यक रहेको कार्यक्रमका सहभागिहरुले बताएका थिए । राजनैतिक दलको घोषणापत्रमा समेत अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका विषय नआउनु दुःखद कुरा भएको उनीहरुको भनाई थियो । साथै सहभागिहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई राजनीतिक सहभागिता खै ? भनी राजनीतिक दललाई प्रश्न समेत उठाएका थिए ।

पछिल्लो समय अपाङ्गता भएका व्यक्तिहरुको समावेशिकरण र हक अधिकारका विषयमा राज्य गम्भिर रहेको उपस्थित मन्त्री तथा सांसदहरुले बताएका थिए । साथै राज्यले कोही कसैलाई फरक तरिकाले नभई समान नजरले हेरिरहेको उनीहरुको भनाई थियो ।

यता राजनीतिक दलका प्रमुख सचेतकहरुले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि सधै पक्षमा रहेको बताए । अपाङ्गता भएका व्यक्तिहरुलाई समावेशीकरण र पहुँचलाई साथ दिइरहेको दावी उनीहरुले गरे ।

कार्यक्रमको उद्घाटन आर्थिक मामिला मन्त्री जित प्रकाश आले मगरले गरेका थिए । कार्यक्रमको अध्यक्षता नेत्रहिन युवा संघ नेपालका अध्यक्ष शेरजंग गुरुङले गरेका थिए भने सञ्चालन संघका महासचिव सुनिल सिंहले गरेका थिए ।

कमेन्टहरु
Loading...