पोखरामा गुरुङ चलचित्र सैंर्वे ट’ को प्रिमियर शो हुने

पोखरा । पोखरामा आगामी मंसिर ९ गते गुरुङ समुदायमा आधारित तमु चलचित्र ‘सैंर्वे ट’ (मनको फूल) को विशेष प्रदर्शन (प्रिमियर शो) हुने भएको छ ।

माओत्से गुरुङ फिल्मस् सँगको सहकार्यमा उचाई स्टुडियो प्रालिको ब्यानरमा निर्मित चलचित्रको ट्रेडमलस्थित सिनेप्लेक्समा बिहान १० बजे विशेष प्रदर्शन हुने निर्माण टिमले जनाएको छ ।

रत्ना गुरुङद्वारा लिखित तथा निर्देशित सो चलचित्रको च्यारिटी शुल्क १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

चलचित्रमा नायकका रुपमा विश्वात्मा गुरुङलाई देख्न सकिन्छ भने नायिकाकी रुपमा कृष्टि गुरुङले अभिनय गरेकी छिन् ।

यस्तै चलचित्रमा गजेन्द्र गुरुङ, सूर्य सुनुवार, डिबी गुरुङ, लालशोभा गुरुङ, प्रकृति गुरुङ, राममाया गुरुङ लगायत कलाकारको भूमिका रहेको छ ।

निर्देशक गुरुङका अनुसार गुरुङ समुदायको संस्कार, संस्कृति र परिवेशमा आधारित चलचित्रमा प्रेमको विषयलाई केनद्रमा राखेर फिल्म निर्माण गरिएको छ ।

पारिवारिक एवं प्रेमकथामा आधारित उक्त चलचित्रको छायांकन स्याङ्जाको कोल्मा, पोखरीछाप तथा पोखराका विभिन्न स्थानमा गरिएको निर्देशक गुरुङले जानकारी दिइन् ।

उनले चलचित्रमा प्रविधिक पक्षमा नयाँपनको अभ्यास गरिएको बताउदै चलचित्र विशेष बनेको बताइन् ।

चलचित्रको निर्मातासमेत रहेकी गुरुङले यसअघि लघु चलचित्र म्हैता (पाईला)को पनि निर्देशन गरेकी थिइन् ।

चलचित्र सैंर्वे ट (मनको फूल) को सम्पादन दिपेश गुरुङले गरेका छन् भने छायांकन सन्देश गुरुङले गरेका हुन् ।

कमेन्टहरु
Loading...