पोखरा । प्रथम आशिर्वाद पुरुष भलिबल प्रतियोगिता २०८० को उपाधि राम लक्ष्मण टिमले हात पार्न सफल भएको छ । पोखरा १३ आर्वामा रहेको आशिर्वाद क्लबको आयोजनामा भएको उक्त प्रतियोगिताको फाइनल खेलमा पोखरा १५ को गलेश्वर टिमलाई हराउँदै रामलक्ष्मण टिमले उपाधि हात पारेको हो ।
उपाधि हात पारेसँगै रामलक्ष्मण टिमले नगद ४० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बेस्ट अफ थ्री को आधारमा खेलाइएको फाइनल खेलमा रामलक्ष्मण टिमले २१¬–२५, २५–१६ र २५–१८ को नम्वर अन्तरले गलेश्वरलाई पछाडी पारेको हो ।
उपबिजेता बनेसँगै गलेश्वरले नगद २५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
यसैगरि प्रतियोगिताको उत्कृष्ट स्पाइकर रामलक्ष्मणका मिलन सुनार, उत्कृष्ट डिफेण्डर रामलक्ष्मणकै इभिल गुरुङ र उत्कृष्ट ब्लकर गलेश्वरका झक बहादुर मगर बन्न सफल भए ।
रेफ्रिलाई बल हस्तान्तरण गरि खेलको उद्घाटन गरेका पोखरा खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदारले खेल भनेको अनुशासित रहि प्रतिभा देखाउने क्षेत्र रहेको बताए । खेलमा हार जित एउटा पाटो हो भने यसलाई निरन्तरता दिनु ठुलो कुरा रहेको उनको भनाई थियो ।
त्यस्तै पोखरा महानगरपालिका वडा नं. १३ का पूर्व वडाध्यक्ष दर्शन लामाले खेलले मानिसमा चुस्त बनाउने हुँदा प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरे ।
त्यसैगरि पोखरा महानगरपालिका वडा नं. १३ की जनप्रतिनिधि रजनी परियारले खेल संस्कृतिको विकास आवश्यक रहेको र खेलले मानिसलाई स्वस्थ राख्ने बताइन् ।
क्लबका अध्यक्ष मनिष बरालले उपस्थित सबैलाई स्वागत गर्दै दिगो विकास सहित संस्कृतिको जगेर्ना गर्न क्लब स्थापना भएको बताए ।
प्रतियोगितामा उल्लेख्य सहभागिता रहेको हुँदा आगामी वर्षमा यसलाई निरन्तरता दिने क्लबका ईन्चाज रवि बरालले बताए । साथै प्रतियोगिता सफल बनाउन साथ र सहयोग गर्ने सबैप्रति आभार समेत उनले व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन क्लबका सचिव अर्जुन बरालले गरेका थिए ।