जरोटुप्पोमा कुशे औंशी तथा मोती विमर्श

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले १५८ औं मोती जयन्तीको अवसर पारेर कुशै औंशी तथा मोती विमर्श कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्थापनाकालदेखि नेपाली साहित्यका विशिष्ट प्रतिभाको जन्मजयन्तीलाई जरो मानेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिष्ठानले भाषा साहित्य र संस्कृतिको संरक्षणमा उल्लेख्य योगदान दिएको बताए ।

उनले मोतीराम र कुशे औँशीको स्मरण गर्दा एकातर्फ आफ्ना पिताप्रपिताको, अर्कातर्फ नेपाली गजलका पिताको स्मरण हुने भएकाले नेपाली भाषा साहित्यको श्रीवृद्धिमा लाग्नेहरू बीच यो दिनको विशेष महिमा र महत्व रहेको धारणा राखे ।

मोतीरामका बारेमा प्रकाश पार्दै साहित्यकार स्ट्रगल रानाले मोतीरामले भानुभक्तलाई खोज्दै नहिँडेको भए हाम्रो नेपाली भाषा यति समृद्ध नहुने जिकिर गरे । रानाले मोतीरामले छोटो समयमा दिएको योगदानबाट वर्तमान पुस्ताले पाठ सिक्न आवश्यक रहेकोमा जोड दिए ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले जरोटुप्पोले स्थापनाकालदेखि पृथक प्रकृतिमा कार्यक्रम सञ्चालन गर्दै आएकाले यसप्रति शुभेच्छुक, शुभचिन्तकको ठूलो आशा र भरोसा रहेको धारणा राखे ।

प्रा.डा. यामबहादुर पौडेल क्षत्रीले नेपाली भाषा र गजलको श्रीवृद्धिमा मोतीरामको योगदान तुलनै हुन नसक्ने बताए । उनले कुशे औशीका सन्दर्भमा स्वतस्फुर्त यस्ता गतिविधि सञ्चालन हुनु सम्पूर्ण भाषा, कला र साहित्यसेवीका लागि गौरवको विषय भएको बताए ।

मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमले कुशे औंशी र मोती जयन्ती आफैमा पृथक संस्कारसँग जोडिएको सन्दर्भ रहेकाले मोतीराम भट्टलाई नेपाली गजलका बाबुका रूपमा जरोटुप्पोले स्मरण गर्दै आएकोमा खुसी लागेको धारणा राखे ।

साहित्यकार विष्णु बास्तोलाले हामीले मोतीराम भट्टको जीवनीबाट धेरै कुरा सिक्न र व्यवहारमा लागू गर्न आवश्यक रहेको बताए । उनले आफ्नो व्यापार व्यवसायबाट बचेको समय साहित्य सिर्जनामा लाग्दा आफूलाई सन्तोष मिलेको विचार व्यक्त गरे ।

समालोचक मदन भण्डारीलाई थोरै प्रतिबद्ध व्यक्तिले आफ्नो जिम्मेवारी बोध गर्ने हो भने हामीमा देखिएका ८० प्रतिशत समस्याको निराकरण हुने धारणा राख्दै साहित्यको श्रीवृद्धिमा स्वार्थको गन्ध आउन नहुनेमा जोड दिए । कार्यक्रममा अनु बराल, अश्विन बराललगायतले कवितामा बुबा र मोतीरामलाई स्मरण गरेका थिए ।

कमेन्टहरु
Loading...